दोरम्बा गाउँपालिकाद्धारा एम्बुलेन्स खरिद गर्ने निर्णय



१८ भदौ, रामेछाप ।
दोरम्बा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । गाउँपालिकाभित्रका नागरिकहरुलाई अस्पतालसम्म लैजान एम्बुलेन्स नहुँदा सास्ती झेल्ने समस्या बढदै गएपछि गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको हो । गाउँपालिकाले पहिलो पटक एम्बुलेन्स खरिद गर्न १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले गाउँ कार्यपालिकाको बैठकले एम्बुुलेन्स खरिद गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘एम्बुलेन्स नहुँदा गाउँपालिकाभित्र बिरामी हुँदा नागरिकहरुले सास्ती खेप्दै आउनुभएको छ, आगामी दिनमा सहज रुपमा अस्पतालसम्म बिरामी लैजान एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका छौं ।’

उहाँका अनुसार खरिद गर्न लागिएको एम्बुलेन्स आधुनिक र सुविधा सम्पन्न हुनेछ । आगामी दुई महिनाभित्र एम्बुलेन्स खरिद गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताउदै एम्बुलेन्सको व्यवस्थापन गाउँपालिकाले नै गर्ने बताउनुभयो । सात वटा वडा रहेको गाउँपालिकामा हाल वडा नम्बर ६ लखनपुरमा मात्र एम्बुलेन्स सेवा रहेको छ । स्थानीयको सक्रियतामा उक्त एम्बुलेन्स खरिद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्