कर्मचारीहरुलाई उच्च मनोबलको साथ काम गर्न प्रजिअ शर्माको आग्रह



२२ भदौ, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निजामती कर्मचारीहरुलाई उच्च मनोबलको साथ काम गर्न आग्रह गर्नुभएको छ । उहाँले कर्मचारीले नागरिकहरुको सेवालाई पहिलो प्राथमिकता राखेर काम गर्न आग्रह गर्नुभएको हो ।

प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा रामेछाप न्युजसँग कुराकानी गर्दै प्रजिअ शर्माले जिल्लाभित्रका सबै कर्मचारीहरुलाई शुभकामना व्यक्त गर्नुभयो । कोरोनाको नियन्त्रण र रोकथामको लागि कर्मचारीहरुले खेलेको भूमिका प्रशंसनीय छ, जोखिम मोलेरै कर्मचारीहरुले काम गरिरहनुभएको छ, उहाँले भन्नुभयो ।

निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण र पेशागत निष्ठा मार्फत जनताप्रति उत्तरदायी र असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न आग्रह गर्दै प्रजिअ शर्माले कोरोनाको विषम परिस्थितिलाई सामना गर्ने क्रममा जीवन जोखिममा राखी अग्रभागमा खटिनु भएका राष्ट्र सेवकहरुको भूमिका सराहनीय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्