कुलमान घिसिङको निरन्तरताको लागि उर्जा मन्त्रालयद्धारा प्रस्ताव तयार



२३ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः निरन्तरता दिन उर्जा मन्त्रालयले  मन्त्रिपरिषद्को बैठकमा लैजान प्रस्ताव तयार गरेको छ । मन्त्रालयका अनुसार उर्जामन्त्री बर्षमान पुनले विहिवार बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने तयारी गर्नुभएको हो । घिसिङलाई निरन्तरता दिनको लागि जनस्तरबाट चर्को दबाब परेपछि सरकारले एक कार्यकाल पुनः नियुक्त गर्न सरकार सकारात्मक भएको छ ।

मन्त्री पुनले घिसिङको निरन्तरताको लागि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यसअघि नै परामर्श गरिसक्नुभएको छ । प्रधानमन्त्री र प्रचण्डकोबीचमा सोमवार भएको छलफलमा पनि घिसिङलाई नै निरन्तरता दिनुपर्ने विषयमा मोटामोटी सहमति भएको बताइएको छ । पार्टीभित्र सहमति कायम गरेर मात्र संवैधानिक नियुक्ति गर्ने दुई अध्यक्षको बीचमा समझदारी बनेको छ ।

कुलमान घिसिङलाई नै निरन्तरता दिन उर्जा मन्त्रालयले प्रस्ताव तयार गरेपनि प्रधानमन्त्री ओलीले भने कुलमानको विषयमा कुनै प्रतिक्रिया दिइसक्नुभएको छैन् । घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिदैछ ।

नेपालमा लोडसेडिङको अन्त्य गर्न राजनीतिक नेतृत्वसँग मिलेर घिसिङले नेपाल विद्युत प्राधिकरणमा कुशल व्यवस्थापन गरेपछि चौतर्फी रुपमा दोहोर्याउनु पर्ने माग रहेको छ । घिसिङले चार बर्षे कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई ११ अर्ब रुपैयाँमा नाफामा लैजानुको साथै देशभर लोडसेडिङमुक्त गराउन भूमिका खेल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्