चिठ्ठा हालेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै मन्थली नगरपालिका



२३ भदौ, रामेछाप ।
सरकारले अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने निर्णय गरेसँगै मन्थली नगरपालिकाले पनि यस बर्षबाट सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने तयारी गरेको छ । नगरपालिकाले बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न नगरपालिकाभित्र रहेका १३ वटा बैंक मार्फत गर्ने भएको हो ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाभित्र रहेको १३ वटा बैंकहरुबीच गोलाप्रथा मार्फत वडा छनोट गरिने बताउनुभयो । ‘बैकिङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न हामी तयार छौ’, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘वडा नम्बर १ र १४ एउटै बैंक र बाँकी रहेका वडामा एक/एक वटा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको काम अगाडि बढाउछौं ।’

कुन वडामा कुन बैंकले काम गर्ने भन्ने निर्णय चिठ्ठा प्रणालीबाट हाल्छौ, जुन वडा पर्छ त्यही वडामा काम गर्न बैंक तयार हुनुपर्छ, बस्नेतले भन्नुभयो । मन्थली नगरपालिकाभित्र ६ हजार ६ सय ६५ सामाजिक सुरक्षा भत्ता लिदै आएका छन् । नगर प्रमुख बस्नेतका अनुसार सामाजिक सुरक्षा भत्ताको लागि १५ करोड रुपैयाँ खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्