कुलमान घिसिङलाई पुनः नियुक्तिको प्रस्ताव भोली मन्त्रिपरिषदमा जाने
२२ भदौ, काठमाडौं ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव भोली बस्ने मन्त्रिपरिषद् बैठकमा जाने भएको छ । भोली बस्ने मन्त्रिपरिषद्को बैठकमा उर्जामन्त्री बर्षमान पुनले कुलमानलाई पुनः नियुक्तिको प्रस्ताव लैजानु हुने भएको छ । आज बस्ने बस्ने भनिएको मन्त्रिपरिषदको बैठक शुक्रबारका लागि सरेको छ ।
मन्त्रिपरिषदको बैठक सरेसंगै नेपाल विद्युत प्राधिकणमा कार्यकारी निर्देशक नियुक्ति गर्ने कुरा पनि पछि धकेलिएको छ । भदौं २९ गते चार बर्षे कार्यकाल समाप्त हुन लागेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तरता दिने तयारी सहितको प्रस्ताव उर्जा मन्त्रालयले तयार गरिसकेको छ । बिहिबारको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई नै ४ वर्ष थपेर कार्यकारी निर्देशकमा निरन्तता दिनेगरि प्रस्ताव लैजाने मन्त्रालयको तयारी थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटवार्तामा घिसिङको कार्यकाल थप गर्नेबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्ड प्राधिकरणमा राम्रो काम गरेकाले कुलमानको कार्यकाल थप गर्नु पर्ने अडानमा रहनुभएको छ । स्रोतका अनुसार सोमबारको छलफलमा प्रधानमन्त्री ओली पनि कार्यकाल थप्न सकारात्मक देखिएको बताइएको छ । दुई हप्ताअघि प्रधानमन्त्री ओली र मन्त्री पुनबीच पनि कुलमानको कार्यकाल थप्नेबारे छलफल भएको थियो । यसअघि सोमबार नियमित रुपमा बस्नुपर्ने मन्त्रिपरिषदको बैठक बिहिबारका लागि सरेको थियो ।