नेकपाको स्थायी कमिटीको बैठक वालुवाटारमा जारी, बैठकबाट अध्यक्ष ओली बाहिरिए



२६ भदौ, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको जारी आन्तरिक विवाद तत्कालको लागि समाधान गर्न स्थगित भएको स्थायी कमिटीको बैठक आजबाट सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएकको स्थायी कमिटीको बैठकमा पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गर्नुभएको १५ बुँदे संयुक्त प्रस्ताव पेश भएको छ ।

तीन महिनादेखि जारी विवाद अध्यक्षद्धय ओली–प्रचण्डको संवाद र कार्यदलको सुझावको आधारमा समाधान गर्न बैठक बोलाइएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजिनामा प्रकरणबाट सुरु भएको विवाद झण्डै तीन महिना लम्बिएको थियो । गत असारमा सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने माग स्थायी समिति सदस्यको बहुमत सदस्यले माग गरेपछि विवादले उग्र रुप लिएको थियो ।

आन्तरिक विवादले झण्डै फुटको संघारबाट जोगिएको नेकपाले संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषदको पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी मापदण्ड बनाएर सहमतिमै सरकार पार्टी सञ्चालन गर्ने नीति लिएको छ ।

विगतमा पनि सहमति हुने तर कार्यान्वयन नहुने समस्या दोहोरिएपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल सहितका नेताहरुले प्रधानमन्त्री ओली एकलौटी रुपमा अगाडि बढेको आरोप लगाउदै अध्यक्ष वा प्रधानमन्त्री दुई मध्य एक पदबाट राजिनामा दिन लगाउने नीति लिएका थिए । तर प्रधानमन्त्री ओलीको अडानको कारण तत्काल अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहने र बाँकी कार्यकाल सरकार सञ्चालन गर्ने गरी अगाडि बढन सफल हुनुभएको छ ।
स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राखेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बाहिरिनुभएको छ । सहमतिमै बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई दिएर ओली बाहिरिनुभएको हो । एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष ओलीलाई बैठक सञ्चालनको गर्न आग्रह गरेर बाहिरिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्