खाँडादेवी गाउँपालिकाद्धारा भोलीबाट विद्यालय सञ्चालन गर्ने निर्णय



३१ भदौ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाद्धारा विगत सात महिनादेखि अवरुद्ध पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराएर गाउँपालिकाभित्र रहेका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गर्दै विद्यार्थी संख्याको आधारमा चरणबद्ध रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक र अभिभावकहरुसँगको परामर्शपछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष तामाङले यदी कहीकतै कोरोना संक्रमित देखिएको अवस्थामा भने उक्त टोल र बस्ती शिल गरेर ती क्षेत्रमा विद्यालय सञ्चालन नगर्ने नीति लिएको बताउनुभयो ।
खाँडादेवी गाउँपालिकाभित्र १२ वटा मावि र ४० आधारभूत गरी ५२ वटा विद्यालय रहेको छ । गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार पाँच हजार भन्दा बढी विद्यार्थी रहेका छन् । गाउँपालिकाले सुरक्षा सतर्कता अपनाउनको लागि विद्यालयलाई आवश्यक पर्ने सेनिटाइजर र मास्क खरिदको लागि चार लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्