मन्थली नगरपालिकाभित्र सुत्केरी भैसीलाई तीन हजार भत्ता



१२ असोज, रामेछाप ।
मन्थली नगरपालिकाले नगरपालिकालाई दुधमा आत्मनिर्धर बनाउन सुत्केरी भैसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । मन्थली नगरपालिकाभित्र स्थायी बसोबास गर्ने दर्ता भएका भैसी फार्म एवं कृषकहरुलाई भैसीलाई सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको हो ।
नगरपालिकाले बनाएको कार्यविधि अनुसार यस आर्थिक बर्षमा ६० गोटा भैसीहरुलाई सुत्केरी स्याहार प्रोत्साह भक्ता उपलब्ध गराउने सूचना जारी गरेको छ । नगरपालिकाद्धारा जारी सूचना तीस दिनभित्र आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न आग्रह गरिएको छ । मापदण्ड नपुगेका, म्यादपछि प्राप्त भएका र बढीमा तीन माउ भैसी भन्दा बढी संख्यामा प्राप्त भएका प्रस्तावलाई छनौट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख गरिएको छ ।
भैसीको सुत्केरी भक्ता प्राप्त गर्नको लागि भैसी सुत्केरी भएको निवेदन, वडा कार्यालयको सिफारिस, सम्बन्धित भैसी धनी कृषकको नागरिकता, मान्यता प्राप्त पशु बीमा कम्पनीबाट भैसी बीमा गराएको पोलिसिको प्रतिलिपि आवश्यक पर्ने मन्थली नगरपालिको पशु सेवा शाखाले बताएको छ ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले कृषकरुलाई प्रोत्साहन गर्न भैसीलाई सुत्केरी भत्ता वितरणको काम अगाडि बढाएको बताउनुभयो । गत बर्षबाट सुत्केरी भत्ता वितरणको काम अगाडि बढाइएको बताउदै बस्नेतले भन्नुभयो,‘मापदण्ड पूरा गरेर आउने कृषकले भैसी सुत्केरी भत्ता बराबर तीन हजार प्राप्त गर्छन ।’ उहाँले अगामी दिनमा पनि प्रोत्साहनभत्ता वितरणको कामलाई निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्