मन्त्री ढुंगेलको पहलमा रामेछापमा दुइ पर्यटकीय गन्तव्य निर्माण हुँदै
१२ असोज, रामेछाप ।
बागमती प्रदेश सरकारले रामेछापको दुई स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ । रामेछापको खाँडादेवी गाउँपालिकाको सुलिथुम्का र गोकुलगंगा गाउँपालिकाको शिवालयलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागेको हो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको पर्यटन विकास आयोजनाले सुलिथुम्कामा भ्यु टावर निर्माण र शिवालयमा हिल स्टेसन निर्माणको लागि ठेक्का सम्झौता गरको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा दुई क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको हो । मन्त्री ढुंगेलले जिल्लाभित्र पर्यटकीय गन्तव्य बनाउने स्थलको रुपमा दुई वटा आयोजना छनौट गरेर काम अगाडि बढेको बताउनुभयो ।
पर्यटन विकास आयोजनाले शिवालयमा हिल स्टेसन निर्माणको लागि ठेक्का सम्झौता गरिसकेको छ । आयोजनाका प्रमुख शिव सापकोटाले ४ करोड ४४ लाख लागतमा हिल स्टेसन निर्माणको काम अगाडि बढेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार हिल स्टेसनमा भ्यु टावर मल्टिपर्पोज हल र वन बगैंचा निर्माण हुनेछ ।
त्यसैगरी खाँडादेवी गाउँपालिकाको केन्द्र नजिकै गोगनपानीमा निर्माण हुने भ्यु टावर निर्माणको लागि ४ करोड २१ लाख खर्च हुने भएको छ ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले पहिलो पटक गाउँपालिकाभित्र भ्यु टावर निर्माण हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो‘आधुनिक र व्यवस्थित पार्क सहितको भ्यु टावर निर्माण भएपछि आन्तरिक पर्यटन प्रर्बद्धनमा सहयोग पुग्छ ।’