रामेछाप नगरपालिका पाँच दिन बन्द गर्ने निर्णय, बजार क्षेत्रमा उच्च सतर्कता



१८ असोज, रामेछाप ।
रामेछाप नगरपालिकाभित्र एक वडा अध्यक्ष सहितका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकाले पाँच दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सम्भावित कोरोना संक्रमण फैलिन नदिन नगरपालिकाले पाँच दिने नगरपालिका बन्द गर्ने निर्णय गरेको हो ।

रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले कार्यपालिकाका सदस्यलाई कोरोना संक्रमण देखिएपछि पाँच दिनको लागि कार्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । आज नगरपालिकाका एक जना वडाअध्यक्ष सहित कार्यालय सहयोगी पदमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु पाँच दिनको लागि बन्द गरिएको बताउनुभयो । आगामी शुक्रवारसम्म नगरपालिकाको कार्यालय बन्द रहने भएको छ ।

लामगादे नगरपालिकामा कार्यरत सबै कर्मचारी र संक्रमितको प्रत्यक्ष सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइने बताउनुभयो । नगरपालिकाको कार्यालय पाँच दिन बन्द गर्ने निर्णयसँगै बजार क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्