दसैँमा जहाँ छौँ, त्यही बस्न सरकारको आग्रह
२० असोज, काठमाडौं ।
सरकारले यस बर्षको दशैमा जहाँ छौ त्यही बस्न आग्रह गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा बसोबास गर्नेलाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुभयो । मन्त्रिपरिषदको बैठकको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अरु जिल्लामा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा रहेपनि काठमाडौँमा संक्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको बताउनुभयो
४० लाख जनसंख्या भएको काठमाडौँमा संक्रमण बढ्यो भने संकटको अवस्था आउने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्दै उहाँले दसैँ नजिकै आएकोले काठमाडौँबाट गाउँ जाँदा–आउँदा कोरोना संक्रमणपनि संगै जाने भएकोले जहाँ बसेको छ त्यही दसैँ मनाउनुको विकल्प नभएको बताउनुभयो ।
‘काठमाडौं अझै उच्च जोखिममा छ ।चाडपर्व आउँदैछ । हामी स्वस्थ रह्यौँ भने फेरि दसैँ मनाउन सक्छौँ । यतिबेला सबैभन्दा उच्च जोखिममा जेष्ठ नागरिक रहेकोले दसैँ मनाउँदा जेष्ठ नागरिकलाई जोगाउनुपर्नेछ । काठमाडौंबाट गाउँ जाँदा आउँदा संक्रमण पनि सँगै जाने गर्छ । स्वास्थ्य मन्त्रालयको रिर्पोट अनुसार ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक उच्च जोखिममा रहेकोले सचेत रहन आवश्यक छ, उहाँले भन्नुभयो ।