हाइड्रोले गर्दा उमाकुण्ड गाउँपालिका कोरोनाको उच्च जोखिममाः अध्यक्ष सुनुवार



२७ असोज, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाभित्र सञ्चालित दुगड हाइड्रो पावर कम्पनी प्रालिभित्रका कामदारलाई कोरोना भएको गाउँपालिका नै उच्च जोखिमा परेको बताउनुभएको छ । उहाँले हाइड्रोमा काम गर्ने मजदुरलाई कोरोना संक्रमित भएपछि उपचार नै नगरी घर पठाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुको लिखुपिके गाउँपालिकाको सिमानामा बग्ने लिखु खोलामा जलविद्युत आयोजना निर्माण गरी रहेको सो कम्पनीले संक्रमित कामदारलाई उपचार नगरी जबरजस्ती घर फर्काएको भन्दै गाउँपालिकाले विज्ञप्ती नै जारी गरेर आपत्ति जनाएको छ ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले हस्ताक्षर गरी जारी गरेको सूचनामा विद्युत आयोजनाको काम गर्नका लागि वर्दियाबाट ल्याएका ४७ जना कामदारमा कोभिड पोजेटिभ देखिएपछि उनीहरुलाई जबरजस्ती घर पठाएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ,संक्रमित कामदारलाई आइसोलेसनमा राखी उपचार गर्नुपर्नेमा गाउँपालिकालाई समेत जानकारी नदिई गैरकानुनी रुपमा घर फर्काउनु गम्भिर अमानवीय कार्य हो । आयोजनाको कारण उमाकुण्ड गाउँपालिकामा कोरोना संक्रमणको उच्च जोखिम बढेको बताउदै अध्यक्ष सुनुवारले संक्रमितको सम्पर्कमा आएका मानिसको तत्काल पीसीआर परीक्षण गरी संक्रमण फैलनबाट रोक्न आग्रह गर्नुभएको छ । गाउँपालिकाले सुरक्षा मापदण्डको प्रयोग गरेर मात्र आयोजना निर्माणको काम अघि बढाउन आयोजनालाई आग्रह गरेको छ ।

 

दुगड हाइड्रो पावर कम्पनी प्रालि सिइयो दिपक पौडेलले पेट्टी ठेकेदार माार्फत बर्दियाबाट कम्पनीमा काम गर्न आएका ४५ जना कामदारमा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा राखिएको र स्वंयम कामदारले नै घर फकिन पाउनु पर्ने दबाब दिएपछि दुई वटा गाडीमा घर पठाइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले स्वाथ्य मापदण्ड पालना गरेरै काम गरिरेका छौ, गाउँपालिको जारी गरेको विज्ञप्तीप्रति हाम्रो ध्यानाषर्ण भएको छ, हामी सावधानी अपनाएरै काम गछौं ।’

प्रतिक्रिया दिनुहोस्