रामेछापमा कोरोना जोखिमः ६४ वटै वडामा सर्वदलिय समित गठन गर्ने निर्णय



२८ असोज, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना भाइरस समुदाय स्तरमा फैलिने क्रम सुरु भएपछि उच्च सतर्कता अपनाइएको छ । संक्रमितको संख्या बढेसँगै पिसिआर परीक्षणको दायरा समेत बढाइएको छ ।

मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा केही दिनयता संक्रमितको संख्या ह्वातै बढेको छ । सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुमा धमाधम कोरोना देखिन थालेसँगै केही कार्यालय समेत बन्द भएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कोभिड–१९ रोकथाम न्युनिकरण तथा व्यवस्थापन समितिको बैठकले वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना रोकथाम तथा न्यूनीकरण गर्न स्थानीय तहका वडा अध्यक्षको संयोजकत्वमा स्वास्थ्य चौकीको प्रतिनिधि, प्रहरी चौकीको प्रतिनिधि, स्थानीय राजनीतिक दलको प्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेवीका र स्थानीय समाजसेवी रहेको कोभिड–१९ व्यवस्थापन र सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो । समितिले प्रत्येक वडाको गाउँ टोलबाट टिमलिडर सहितको दुई तीन जनाको टीम गठन गरी विभिन्न काम गर्ने म्यान्डेट दिएको छ ।

यस्ताे छ सिमितिले गर्ने काम 
क) कोभिड–१९ परीक्षणबाट पोजेटिभ देखिएकालाई होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्ने ।
ख) संक्रमितको सम्पर्कमा आएकालाई अन्यसँग घुलमिल हुन नदिने ।
ग) लक्षण देखिएका विरामी र सम्भावित जोखिमको जानकारी स्वास्थ्य कार्यालयलाई दिने ।
घ) स्वाव परीक्षण गरेका व्यक्तिको नतिजा नआउने समयसम्म निगरानी गर्ने ।

प्रतिक्रिया दिनुहोस्