खाँडादेवी गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालमा (फोटोफिचर)



६ कात्तिक, रामेछाप ।
खाँडादेवी गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा आएको छ । खाँडादेवी गाउँपालिकाको पहलमा संघीय सरकारले पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो । सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँच शैयाको कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याउने निर्णय अनुसार खाँडादेवी गाउँपालिका–५ पकरवारमा अस्पताल सञ्चालनमा आएको छ । पकरवास स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्दै पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले पाँच शैयाको अस्पतालको संयुक्त रुपमा उदघाटन गर्नुभयो । अस्पतालको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाभित्र पहिलो पटक अस्पताल सञ्चालनमा आउनु खुसीको विषय भएको बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो,‘निर्वाचनमा जनतासँग गाउँपालिकाभित्र अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता पूरा भएको छ, १५ शैयाको अस्पताल निर्माणाधिन अवस्थामा छ ।’ अस्थायी अस्पताल पकरवासमा सञ्चालन भएपनि नयाँ भवन निर्माण सम्पन्न भएपछि स्थायी अस्पताल नयाँ भवनमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

गोगनपानीमा अस्पतालको भवन निर्माणधिन अवस्थामा रहेको जानकारी गराउदै अध्यक्ष तामाङले चाडै अस्पताललाई एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष मखमली श्रेष्ठले जिल्लाको अस्पतालमा पाउने सेवा सुविधा गाउँपालिकावासीले गाउँपालिकामै पाउँदा आफूलाई खूसी लागेको बताउनुभयो ।

अस्पताल उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त डा. भानु श्रेष्ठले उपत्यका जानुपर्ने जटिल समस्या बाहेक सबै सेवा खाँडादेवी अस्पतालले नै दिने बताउनुभयो ।गाउँपालिकाभित्र नै अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचार गर्नको लागि सदरमुकाम मन्थली र राजधानी काठमाडौं जानुपर्ने बाँध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्