जेलमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खडकामाथि फेरि अर्को कारवाही
१३ कात्तिक, काठमाडौं ।
बलात्कारको आरोपमा जेलमा रहेका लिखु तामाकोसी गाउँपालिकामाथि फेरि अर्को कारवाही भएको छ । जेलमा रहेका खडकालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।
बागमती प्रदेश कमिटीले लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको बागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले रामेछाप न्युजलाई बताउनुभयो ।
खड्कामाथि गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीले बलात्कारको आरोप लगाएकी थिइन् । यो प्रकरणमा जिल्ला अदालत रामेछापले खडकालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । त्यस्तै ठगीलगायतका विभिन्न मुद्दामा पनि खड्कालाई अदालतले दोषी ठहर गरेको थियो ।
खड्का नेकपा रामेछापका जिल्ला सदस्य रहेका थिए । गाउँपालिकाभित्र विवाद चुलिएसँगै यसअघि पनि प्रदेश कमिटी नै खडकालाई जिल्ला सदस्य नरहने गरी कारवाही गरेको थियो । तत्कालीन एमालेबाट निर्वाचित लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कालाई नेकपाले यसअघि निलम्बन गरेको थियो । अदालतको फैसलासँगै खड्कालाई साधारण सदस्य पनि नरहनेगरी निष्कासन गरिएको पोखरेलले जानकारी दिनुभयो ।