दोरम्बा गाउँपालिकाले भन्यो– गाउँपालिका कोरोनाको उच्च जोखिममा छैन्



१७ कात्तिक, रामेछाप ।
दोरम्बा गाउँपालिकाले हालसम्म गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा नरहेको बताएको छ । गाउँपालिकाले दोरम्बा प्राथमिक अस्पतालमा संक्रमित बिरामीहरुको संख्या समेत नरहेको बताउदै गाउँपालिकाले संक्रमण समुदायमा फैलिन नदिन विशेष ध्यान दिएको बताएको हो ।
गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले हाल गाउँपालिकाभित्र कोरोना संक्रमितको संख्या समेत नरहेको बताउनुभयो । ‘गाउँपालिका कोरोनाको उच्च जोखिममा भन्ने हल्ला निराधा हो’, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘कोरोना नियन्त्रण र रोकथामको लागि गाउँपालिको अधिकतम स्रोत साधन परिचालन गरेको छ, टोलटोलमा जनचेतनाको कार्यक्रम सञ्चालन गरेका छौं ।’

उहाँका अनुसार यसअघि केही संक्रमित भएपनि निको भएर घर फर्किएका छन् । यस बर्षको दशैमा काठमाडौं सहित विभिन्न जिल्लाबाट गाउँपालिकामा आउने नागरिकहरु निकै कम रहेको कारणले पनि संक्रमणको जोखिम कम भएको बताउदै अध्यक्ष मोक्तानले समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन आफूहरु सचेत भएर लागेको बताउनुभयो ।

दोरम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरज मरासेनीले गाउँपालिकाभित्र कोरोना संक्रमणको जोखिम हालसम्म नरहेको बताउनुभयो । उहाँले सम्भावित कोरोना संक्रमितलाई राख्नको लागि ३१ वटा क्वारेन्टाइन बेड र पाँच वटा आइसोलेशन वेड तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म गाउँपालिकाभित्र १ सय ६६ जनाको स्वाब संकलन गरेर परीक्षण गरेका मध्ये ३ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित तीन जनापनि निको भएर घर फर्किएको गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्