रामेछापको गेलुमा आगलागी, पीडित परिवारलाई प्रशासनको राहत



१७ कात्तिक, रामेछाप ।
मन्थली नगरपालिका–१२ गेलुस्थित र्भोलेमा आगलागी भएको छ । आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । आगलागीबाट गेलुका मकर बहादुर बुढाथोकी, मनोज बुढाथोकी र नारायण बुढाथोकीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।
आगालागीमा परी चार बर्षिय बालक श्रवण बुढाथोकी घाइते भएका छन् । घाइते बालकको तामाकोसी अस्पताल मन्थलीमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठका अनुसार आगलागीबाट करिब १७ लाख बराबरको क्षति भएको छ । आज दिउसो लागेको आगो पाँच घण्टापछि स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेना सहितको टोलीले आगो नियन्त्रण गरेको थियो ।

पाँच घण्टाभित्रै प्रशासनद्धारा राहत वितरण
गेलुका आगलागी पीडितलाई पाँच घण्टाभित्रै जिल्ला प्रशासन रामेछापले राहत वितरण गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पीडित परिवारलाई राहत प्रदान गर्नुभएको छ । प्रजिअ शर्माले तीन घरपरिवारलाई चालिस हजार रुपैयाँ राहत प्रदान गर्नुभयो । जिल्ला विपद् व्यवस्थापन कोष मार्फत पीडितलाई तत्काल राहत उपलब्ध गराएको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित परिवारलाई भाँडाकुडा, कम्बल र त्रिपाल पनि वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्