सुनापति गाउँपालिकामा पहिलो पटक तार सहितको इन्टरनेट सेवा



जीबी लामा
१८ कात्तिक, रामेछाप । सुनापति गाउँपालिका–४ बेथानको डहुका बासिन्दाले अब चाँडै नै ईन्टरनेटको सुविधा उपभोग गर्न पाउने भएका छन । नेपाल टेलिकम मन्थलीले विस्तृत अध्ययन गरी पहिलो चरणमा वडा कार्यालय आसपासका एक सय घरमा तार सहितको इन्टरनेट सेवा प्रदान गर्न लागेको हो ।
नेपाल टेलिकम रामेछापका प्रमुख विष्णु भण्डारीले पहिलो चरणमा एक सय घर परिवारमा जडान गरेर थप सेवा विस्तार गर्दै लैजाने बताउनुभयो ।
इन्टरनेट सेवा प्रदान गर्नको लागि सुनापती गाउँपालिका–४ बेथानका वडा कार्यालयसँग कोठा उपलब्ध गराउने सम्झौता भइसकेको छ । सुनापति–४ बेथानका वडाध्यक्ष खड्क घिसिङ्ले पहिलो चरणमा एक सय घरपरिवारबाट सुरु गरेर सिंगो वडाभित्र नै इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य राखिएको बताउनुभयो ।


घिसिङले आफ्नो चुनावी घोषणा पत्रमा बाचा गरे बमोजिम गाउँमा इन्टरनेट सुविधा जनताले आफ्नै कार्यकालमा उपभोग गर्न सकोस भन्ने प्रयास स्वरुप अबको तीन महिनाभित्र नै सेवा सञ्चालन हुने दावी गर्नुभयो ।

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले निकै ठूलो मेहनतपछि गाउँमा इन्टरनेटकोको पहुँच विस्तार हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले एक सय घरबाट सुरु गरेर सबै वडाभित्र नै इन्टरनेटको पहुँच पुर्याउने गाउँपालिको नीति छ ।’ इन्टरनेट सेवाग्राहीको माग र चाहना बमोजिम गाउँपालिको सबै वडाहरुमा बिस्तार गरिने आगामी दिनमा इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन गाउँपालिकाले भूमिका खेल्ने बताउनुभयो । सुनापती गाउँपालिकामा पहिलो पटक तार सहितको इन्टरनेट सेवा विस्तार हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्