उमाकुण्ड गाउँपालिकाको सात वटै वडामा हेलिप्याड निर्माण गछौः अध्यक्ष सुनुवार
२३ कात्तिक, रामेछाप ।
सरकारले रामेछापको उमाकुण्ड गाउँपालिकाका उपचार हुन नसक्ने गर्भवती र सुत्केरी महिलाको निशुल्क रुपमा हेलिकोप्टरबाट उद्दार गर्ने निर्णय गरेको छ । सरकारले गरेको निर्णय यस बर्षबाट कार्यान्वयनमा आउने भएको हो ।
सरकारको निर्णयप्रति उत्साहित भएको उमाकुण्ड गाउँपालिकाले सबै वडाभित्र हेलिप्याड निर्माण गर्ने भएको छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले यस कार्यमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा महिला तथा बालबालिका मन्त्रालयलाई धन्यवाद दिनुभयो ।
उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘भौगोलिक रुपमा गाउँपालिकाभित्रका गर्भवती र सुत्केरीलाई समयमा नै अस्पताल पुर्याउन निकै सास्ती थियो,अब सरकारको निर्णयसँग तत्काल उद्दार हुने कुराले हामी खुसी छौं ।’
अध्यक्ष सुनुवारले गाउँपालिकाभित्रका सात वटै वडाको पायक पर्ने स्थानलाई मध्यनगर गर्दै यसै बर्ष सुविधा सम्पन्न हेलिप्याड निर्माणको काम अगाडि बढाइने बताउनुभयो ।