रामेछापको आयुर्वेद स्वास्थ्य केन्द्रलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिने



१ मंसिर, रामेछाप ।
रामेछापको मन्थलीमा सञ्चालित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिने भएको छ । बागमती प्रदेश सरकार मातहत सञ्चालित केन्द्रलाई प्रदेशकै नमूना अनुसन्धान केन्द्रको रुपमा विकास गरिने भएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रदेशकै अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘जिल्लाभित्र रहेका जडिबुटीको बारेमा अध्ययन गर्ने केन्द्रलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरेर लैजान प्रदेश सरकार प्रतिबद्ध छ’,उहाँले भन्नुभयो,‘केन्द्रको विकासको लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्छ ।’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापका डा. नरेन्द्र गिरीले केन्द्रलाई अन्तरंग सेवा सहितको अस्पतालमा विकास गरिनु पर्ने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘अहिले सञ्चालनमा रहेको योगा हल साँधुरो छ, ५० जना अडाउन सक्ने क्षमताको योगाहल बनाउन आवश्यक छ, केन्द्रको भवन र योगाहल बनाउन प्रदेश सरकारले बजेट उपलब्ध गराउने अपेक्षा गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्