पाँच उपप्रमुखको एउटै बोलीः लैङ्गिक हिंसा अन्त्य गर्न सबै मिलेर लागौं



१९ मंसिर, रामेछाप ।
हरेक बर्ष लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुँदै आएको छ । समाजमा हुने लैङ्गिक हिंसा अन्त्य गर्नको लागि चालिएका अभियान केही बर्षयता प्रभावकारी बन्दै आएको छ । रामेछापको आठ वटै स्थानीय तहले अभियान सञ्चालन गरेपनि दोरम्बा गाउँपालिकाले भने यस बर्ष भिन्न ढंगबाट कार्यक्रम मनाएको छ ।
लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः ब्यक्ति समाज र सवैको ऐक्यवद्धता भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसर पारेर दोरम्बा गाउँपालिकाले सात वटै स्थानीय तहका उपप्रमुखरुलाई निमन्त्रणा दिएको थियो । तर शुक्रवार दोरम्बा गाँउपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा चार वटा स्थानीय तहका उपप्रमुखहरु भने सहभागी थिएनन ।

कार्यक्रममा सहभागी गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, प्रमुख प्रशासकीय अधिकृत धिरज मरासेनीले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि सहभागी उपप्रमुखहरुसँग सुझाव मागेका थिए । कार्यक्रममा सहभागीहरुले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि सबै मिलेर अगाडि बढनु पर्नेमा जोड दिएका छन् ।
जिल्ला समन्वयन समिति रामेछापका उपप्रमुख दीपा पाख्रिनले समाजमा रहेको विकृति र बेथितिको अन्त्यको लागि महिला पुरुष मिलेरै अगाडि बढनु पर्ने बताइन । प्रविधिको बढदो प्रयोगसँग महिलामाथि जघन्य प्रकारको अपराधनका घटना भइरहेको बताउदै उनले समाजलाई सचेत बनाउने कार्यमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताइन ।
खाडादेवी गाउँपालिकाको उपाध्यक्ष मखमली श्रेष्ठले आर्थिक सामाजिक कारणले पनि समाजमा लैङ्गिक हिंसा हुने गरेको बताउदै समाजमा रहेको भेदभाव हटाउनु पर्ने बताइन । उनले गरिबी र विपन्न वर्गको जीवनस्तर सुधार गर्ने कार्यक्रमलाई अगाडि बढाउनु पर्ने बताइन ।

मन्थली नगरपालिकाका उपप्रमुख माया कार्कीले लैङ्गिक हिंसा पुरुषबाट मात्र नभइ महिलाले महिलामाथि नै विभिन्न हिंसा गर्ने गरेको बताइन । उनले भनिन–‘पुरुषलाई मात्र दोष दिने ठाउँ छैन, पहिला महिलाले महिलामाथि गर्ने व्यवहार परिवर्तन गर्न जरुरी छ ।’
त्यसैगरी रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काले अहिले पितृसत्तात्मक सोच र चिन्तको कारण अझै पनि लैङ्गिक हिंसा हुने गरेको बताइन । अब गतल संस्कार र मानसिकता परिवर्तन गर्नुपर्छ, समाजलाई नैतिकवान बनाउन सके लैङ्गिक हिंसा न्युनिकरण गर्न सकिन्छ, उनले भनिन ।
कार्यक्रममा सुनपति गाउँपालिकाका उपाध्यक्ष गीता विष्टले महिलाले केही गर्न नसक्ने समाजको मानसिकतालाई परिवर्तन गर्नुपर्ने बताइन । महिलाले राजनीति गर्नु हुँदैन भन्ने सोच अझै पनि समाजमा व्याप्त छ, गलत मानसिकता परिवर्तन गरेर अगाडि बढनुको विकल्प छैन, उनले भनिन ।
उक्त कार्यक्रममा दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले समाजको सोच परिवर्तन नभएसम्म लैङ्गिक हिंसा अन्त्य गर्ने विषय सहज नभएको बताइन । ‘विभेदको सुरुवात घर हुँदै समाजमा पुगेको छ’, उनले भनिन,‘असमानता र विभेद हटाउन घरबाटै अभियान सुरु गरे मात्र समाजलाई परिवर्तन गर्न सकिन्छ ।’
कार्यक्रममा सामाजिक अभियन्त सम्झाना श्रेष्ठले समाजमा भइरहेको विभिन्न विभेदले महिलाहरु मानसिक समस्या पर्ने गरेको बताइन ।

प्रतिक्रिया दिनुहोस्