सभाहल सहित मन्थलीमा रामेछाप जिल्लाकै ठूलो विद्यालय भवन निर्माण हुँदै



२७ मंसिर, रामेछाप ।
रामेछाप जिल्लामा हालसम्मकै ठूलो विद्यालय भवन निर्माण हुने भएको छ । मन्थली नगरपालिकाको मन्थली माविको नयाँ भवन जिल्लाकै ठूलो बन्न लागेको हो । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा मन्थलीमा बन्न लागेको नयाँ विद्यालय भवनको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले एक कार्यक्रमकोबीच आज शिलान्यास गर्नुभयो ।

विद्यालय भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले गुणस्तरीय भवन निर्माण गर्नको लागि सरोकारवाला निकाय ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले विद्यालय भवनसँगै शिक्षाको गुणस्तर माथि उठाउन पनि विद्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नमूना विद्यालयको रुपमा स्थापित मन्थली माविमा जिल्लाकै ठूलो विद्यालय भवन निर्माण हुनु खुसीको विषय भएको मन्थली माविका प्रअ टंक दाहालले बताउनुभयो । पाँच सय जना अटाउने सभाहल सहित ३६ कोठे विद्यालय भवन निर्माण हुन लागेको हो । करिब २० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको विद्यालयमा १२÷१२ कोठे तीन वटा ब्लक रहने गरी डिजाइन गरिएको छ ।

नयाँ बन्ने विद्यालय भवन परिसरमा तीन वटा शौचालय रहने छ । विद्यालय भवन निर्माणको ठेक्का खानी निर्माण सेवाले पाएको छ । १४ करोड २ लाख लागतमा भवन निर्माण हुने खानी निर्माण सेवाका सञ्चालक रत्न गौतमले रामेछाप न्युजलाई बताउनुभयो ।

विद्यालय भवनको आधुनिक र प्रविधिमैत्री रुपमा डिजाइन गरिएको छ । विद्यालय भवनको डिजाइन इन्भारोमेन्ट एण्ड रिसोर्स मेजेजमेन्ट कन्सल्टेन्ट (इआरएमसी)ले गरेको छ । इआरएमसीका सञ्चालक उद्धवराज चौलागाईले विद्यालय भवन आधुनिक र प्रविधिमैत्री रुपमा डिजाइन गरिएको बताउनुभयो । उहाँका अनुसार भवन भुकम्प प्रतिरोधी रुपमा डिजाइन गरिएको छ । विद्यालय भवनको डिजाइन र सुपरभिजनको काम समेत इआरएमसीले पाएको छ । आधुनिक र सुविधा सम्पन्न नयाँ विद्यालय भवन आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्