पार्टीले मलाई कारवाही गर्न सक्दैनः प्रधानमन्त्री ओली



६ पुस, काठमाडौं ।
प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीले कारवाही गर्न नसक्ने बताएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको उपाध्यक्षसरहको व्यक्ति भएकाले पार्टीले आफूलाई कारवाही गर्न नसक्ने बताएका हुन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएको र त्यो भनेको उपाध्यक्षसरह हुने आफू निकट नेताहरुलाई जानकारी गराएका छन् । अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वमा बसेका बैठक र भेलाले आफूविरूद्ध कुनै कारबाही गर्न नसक्ने बताउदै आफूले पनि स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाउने घोषणा गरेका छन् ।

भेलामा सहभागी नेकपाका नेता महेश बस्नेत अनुसार प्रधानमन्त्री ओलीले अहिले पनि पार्टीको अध्यक्ष र संसदीय दलको नेता आफू रहेको बताउदै आफूले गरेका निर्णय वैधानिक हुने बताएका छन् ।

आइतवार संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गरेसँगै ओली पक्षका नेताहरुको सहभागीताबिना नै नेकपाको स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले ओलीलाई अनुशासनको कारवाही गर्न पुस ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । तर प्रधानमन्त्री ओलीले भने आफूले पनि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने आजको भेलामा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्