नेकपा–प्रचण्ड–नेपाल समुह रामेछापको गाउँगाउँमा (फोटोफिचर)



२१ पुस, रामेछाप ।
संसद विघटनको विरुद्ध आन्दोलरत नेकपा प्रचण्ड–नेपाल समुहले रामेछापको आठ वटै स्थानीय कमिटीका भेला सम्पन्न गरेको छ । आफू पक्षिय जिल्ला कमिटीको बैठक सके लगत्तै प्रचण्ड–नेपाल समुहले सबै स्थानीय तहमा भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । संसद विघटनको विषयमा भेला मार्फत आफू निकट जिल्ला नेता र कार्यकर्तालाई उक्त समुहले जानकारी गराएको छ ।

जिल्लाको नेतृत्व अहिले जिल्लाको वडावडासम्म पुगेको छ । जिल्लामा अहिलेसम्म ओली समुहका कुनै पनि नेतालाई प्रचण्ड–नेपाल पक्षले कारवाही गरेको छ । रामेछापमा जिल्ला इन्चार्ज, एक सह–इन्चार्ज, जिल्ला अध्यक्ष र सचिव प्रचण्ड–नेपाल समुहमा रहेका छन् । दोस्रो चरणको आन्दोलनको तयारी अनुसार सबै स्थानीय तहका भेलाको कार्यक्रम सम्पन्न गरिएको जिल्ला सचिव शान्ति पौडेलले जानकारी दिए ।

दोरम्बा गाउँ कमिटीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज देवशकंर पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने कुनै पनि अधिकार संविधानमा नभएको बताए । उनले सरकारको असंवैधानिक कदमको विरुद्ध आन्दोलनबाटै छिनोफानो हुने बताए । उक्त कार्यक्रममा दोरम्बा गाउँ कमिटीका अध्यक्ष हिरा श्रेष्ठ, सचिव कुमार कंडेल, गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तान , उपाध्यक्ष कृशला घिसिङ लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी खाँडादेवी गाउँ कमिटीद्धारा आयोजित भेलालाई सम्बोधन गर्दै नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले केपी ओलीको सर्वसत्तावादको विरुद्ध शसक्त रुपमा आन्दोलन अगाडि बढाइने बताए । उनले निर्वाचनमा जनताले दिएको दुई तिहाई मतलाई ओलीले अपमान गरेर संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताए । कार्यक्रममा नेता होम बुढाथोकी, खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, सचिव रमेश तामाङ, खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी सुनापती गाउँपालिका गाउँ कमिटीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईले संसद विघटन गर्ने असंवैधानिक कदमको विरुद्ध एकताबद्ध भएर आन्दोलनमा लाग्नु पर्नेमा जोड दिए । उनले प्रधानमन्त्री ओलीले अहिलेको जनमतको अपमान गर्दै नेपाली जनतलाई धोका दिएको बताए । उक्त कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समुहका सचिव शान्ति पौडेल,संविधानसभा सदस्य डिल्लीमान तामाङ, नेता टंकलाल घिसिङ सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गीता विष्ट लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी प्रचण्ड–नेपाल समुहले रामेछाप नगर कमिटीका पनि भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले प्रधानमन्त्री केपी ओलीले जनतालाई धोका दिएको बताए । पार्टीको विधि र पद्दतीलाई लत्याउदै आफ्नो गुटको स्वार्थ पूरा गर्न ओलीले संसद नै विघटन गरेको उनले आरोप लगाए । उक्त कार्यक्रममा रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङ, सचिव होतराज ढकाल लगायतको सहभागीता रहेको थियो ।

राम्ेछापका मन्थली नगर कमिटी, लिखु तामाकोसी गाउँ कमिटी, उमाकुण्ड गाउँ कमिटी र गोकुलगंगा गाउँ कमिटीमा भने यसअघि नै प्रचण्ड–नेपाल सहुहले आफू पक्षिय कार्यकर्ताहरुको भेला सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्