प्रतिनिधिसभा विघटन गर्नु राष्ट्रकै लागि पीडादायीः उपाध्यक्ष गौतम (पूर्णपाठसहित)
२५ पुस, काठमाडौं । नेकपाका उपाध्यक्ष एवं एकता राष्ट्रिय अभियानका संयोजक वामेदव गौतमले प्रतिनिधिसभा विघटन हुनु राष्ट्रकै लागि पीडादायि भएको बताएका छन् । उनले दुई तिहाई बहुमत रहेको पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गरेर अगाडि बढनुको सट्टा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु दुःखद भएको बताएका हुन् ।
यस्तो छ शनिवार गौतमद्धारा जारी गरिएको विज्ञप्तीः
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
एकता राष्ट्रिय अभियान
अपिल
आदरणीय कमरेडहरु,
आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ । योसंकटले जुर्मुाउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन तर्फ धकेली रहेको छ । नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैमा गौरवमय उपलब्धि थियो । यो उपलब्धि माक्र्सवाद लेनिनवादको मार्गदर्शनमा विकसति जनताको बहुदलीय जनवादको अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ती हने छैन । तर सरकार संचालनको एउटा कार्यकाल पुरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि ब्यतित नहुदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुखद र पिडादायी भएको छ । नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शिर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो ।
हामी सबैलाई थाहा हुनुपर्छ, चार दशक देखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरु प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश बर्ष सम्म सशस्त्र संघर्ष संचालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका विच भएको एकिकरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो । राष्ट्रिय राजनीतिमा महत्वपुर्ण हैसियत राख्ने दुई कम्युनिष्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको विचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वभाविक हो । तर तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानूनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुबैले सहर्ष स्वीकार गरी सके पछि मतभिन्नता त्यति जटिल हुने देखिदैन । सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनि सहमति भएकै थियो ।
तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो । पार्टी एकीकरणका नीम्ति गरिएको पछिल्लो सहमति अनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो । अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो । यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दूर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भएको छ । पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्ने सम्मका घटना घटनु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो ।
पार्टीभित्र उत्पन्न उपरोक्त समस्या समाधान गर्नुको बदला एकीकरण पछिको यो एक वर्ष नेतृत्वको धु्रवीकरणमा बित्यो । पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापेमार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले वेर्होन परेको छ । यतिवेला कार्यकर्ताहरुलाई तानातान गर्दै क.के.पी. शर्मा ओलीको नेतृत्वमा एउटा समूह र क.पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेका छन् । प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुनसर््थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । साथै नीजि क्षेत्रका दर्जनभन्दा बढि कानूनविदहरु पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ । दुबै समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आफ्नो हक दावी गर्दै निर्वाचन चिन्ह्मा समेत आफ्नो दावी गरिरहेका छन् ।
उपरोक्त सम्पूर्ण अवस्थालाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुनर्एकिकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु । यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनर्एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्र्ने नेपाली जनताले कहिल्यै माफि दिने छैनन् ।
उपरोक्त दुबै समूहमा सामेल हुनुभएका कमरेडहरु !
एक अर्कालाई दोष दिदैं, सामान्य मान मर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै शुरु गर्नुभएको लडाई बन्द गनुहोस र फर्कनुहोस, पुनर्मिलन गर्नुहोस र हजारौं शहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित संचालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौं ।
देश र विदेशमा रहनु भएका हाम्रो पार्टीका प्रिय कमरेडहरु !
नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्नुहोस ! तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस । कुनै पनि समूहका नेता कमरेडहरुको गालीगलौजको शैलीमा विरोध नगर्नुहोस । घरमा आउने कमरेडहरुलाई आफुसक्दो सहयोग गर्नुहोस । सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस । कहिलेकाहीँ कोरोना महामारीबाट बच्न सामाजिक दुरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।
लालसलामसहित एकताको क्रान्तिकारी अभिवादन !
धन्यवाद !
वामदेव गौतम
संयोजक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान