नेपालमा पहिलो पटक भोली १० लाख डोज कोरोना भ्याक्सिन आउने



७ माघ, काठमाडौं ।

नेपाललाई भारतले १० लाख डोज कोरोना भ्याक्सिन अनु्दानमा दिने भएको छ । बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर १० लाख जोड कोरोना भ्याक्सिन अनुदानमा आउन लागेको जानकारी दिएका हुन् । भारतले आजदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ। आज भुटान र माल्दिभ्समा खोप पठाइएको छ। नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ।

भारतबाट ल्याइने खोप अग्रपंक्तिमा खटिएकाहरू र स्वास्थ्यकर्मीलाई लगाइने स्वास्थ्य मन्त्री त्रिपाठीले जानकारी दिए । भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन्। अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो।

नेपाल सरकारले अक्सफोर्ड अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए । मन्त्री ज्ञवालीको भ्रमणसँगै नेपालमा कोरोना भ्याक्सिन आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्