दोरम्बा गाउँपालिकाको लगानीमा अग्लेश्वर भीरमा व्यवस्थित बन्दै सडक



१९ माघ, रामेछाप ।
बर्षा लागेपछि दोरम्बा गाउँपालिकावासीलाई सधै चिन्ता विषय बन्दै आएको अग्लेश्वरको भीरमा गाउँपालिको लगानीमा व्यवस्थित सडक निर्माणको काम अगाडि बढेको छ । अग्लेश्वरको भीरको सडक खण्डमा हरेक बर्षाको समयमा गाडी गुडाउन मुस्किल हुँदै आएको थियो । राजधानी काठमाडौं र सदरमुकाम मन्थली जोडने गाउँपालिकाको मुख्य सडकको रुपमा दोरम्बा–गाल्वा सडकमा गाउँपालिकाले लगानी गर्दै आएको छ ।

गाउँपालिकाले उक्त सडक खण्डमा दिर्घकालिन समाधान खोल्दै अहिले मुख्य पहरो रहेको खण्डमा ढलानको काम अगाडि बढाएको छ । गाउँपालिकाको केन्द्रबाट सात वटै वडा जोडने मुख्य सडकको स्तरउन्ती गर्ने योजना अगाडि सारेसँगै दोरम्बा–गाल्वा सडक पनि प्राथमिकतामा पर्दै आएको छ । राजधानी काठमाडौं र सदरमुकाम मन्थली जाने छोटो दुरीको सडक भएकाले पनि गाउँपालिकाले प्राथमिकतको साथ हरेक बर्ष बजेट विनियोजन गर्दै आएको छ ।

दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाले सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार दोरम्बा अग्लेश्वरीदेखि गाल्वासम्मको सडकको स्तरउन्नतीको यस आर्थिक बर्षमा मात्र ५३ लाखको काम भइरहेको छ । उनले ढलान र सोलिङको काम भइरहेको बताउदै अब बर्षाको समयमा पनि यातायात सहज रुपमा सञ्चालन हुने बताए । गाल्वा दोरम्बा हुँदै उक्त सडक गाउँपालिकाको केन्द्र टोकरपुरसम्म जोडिएको छ ।

विगतमा ट्रयाक ओपन मात्र भएको गाल्वा दोरम्बा सडकलाई सात मिटरको चौडाइ लम्बाई कायम गरेर गाउँपालिकाले स्तरउन्नती गरेको हो । गाउँपालिकाले १ सय २५ मिटर सडक ढलान गर्नको लागि चालिस लाख रुपैयाँमा ठेक्का लगाएरै अहिले काम भइरहेको छ । सडकलाई व्यवस्थित बनाउन थप १० लाखमा सोलिङको साथै एक सय मिटर ढलानको काम भइरहेको बताउदै अध्यक्ष मोक्तानले आवश्यकता पहिचान गरेर तीन लाख रुपैयाँमा सोही सडक अन्तर्गत सोलिङको काम सञ्चालन गरिएको बताए ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठले अग्लेश्वर सडक खण्डलाई व्यवस्थित बनाउन धमाधम ढलान र सोलिङको काम भइरहेको बताए । ‘निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दैछौ’, उनले भने,‘यस बर्षदेखि बर्षाको समयमा पनि निर्वाध रुपमा यातायात सञ्चालन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्