रामेछापको सुनापती र तामे पर्यटकीय नमूना आयोजनामा छनौट



५ फागनु, रामेछाप ।
सुनापती गाउँपालिकाको पर्यटकीय गन्तव्य सुनापती डाँडा देशभरका दुई सय नमूना आयोजनामा छनोट भएको छ । सरकारले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रर्बदधन गर्ने उदेश्यले प्रदेश र स्थानीयतहसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न देशभरका दुई सय नमुना आयोजना छनौट गरेको हो । जस अन्तर्गत संघीय सरकार सुनापती गाउँपालिकाको साझेदारीमा पूर्वाधार निर्माणमा करिब पाँच करोड विनियोजन भएको छ ।

जस अन्तर्गत चार करोड पर्यटन मन्त्रालय र एक करोड सुनापती गाउँपालिकाले बेर्होनेछ । सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लले सुनापती गाउँपालिकाको पर्यटकीय गन्तव्य सुनापतीको नमूना आयोजनामा छनोट हुने खुसीको विषय भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘सुनापती डाँडाको पूर्वाधार निर्माण गर्न गाउँपालिकाले डिपिआर नै तयार गरेको छ, अहिले साझेदारी कार्यक्रम अन्तर्गत पाँच करोड बजेट खर्च हुन्छ, यसबाट पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणमा ठूलो सहयोग पुग्छ ।’

आयोजना कार्यान्वयको लागि तत्काल काम अगाडि बढाउने बताउदै उनले बेथानमा सहिद गेट निर्माणदेखि डिपिआरमा उल्लेख भएका महत्वपूर्ण पूर्वाधार निर्माणको काम अगाडि बढाउने बताए । आयोजना अन्तर्गत सुनापती डाँडमा रहेका ऐतिहासिक एवं धार्मिक मठ मन्दिर एवं छ्र्योतेनको संरक्षण गर्ने, पिकनिक स्पोर्ट निर्माण गर्ने, हिलेदेवी र बेथानबाट डाँडासम्म पुग्ने पदमार्गलाई व्यवस्थित गरिने भएको छ ।

गाउँपालिकाको लगानीमा केही पूर्वाधार निर्माण गरिए पनि नमूना आयोजना छनौट भएसँगै सुनापती डाँडाको पूर्वाधार निर्माणको काम व्यवस्थित रुपमा अगाडि बढने भएको छ । सुनापती डाँडाबाट यसअघि प्याराग्लाइडिङको सफल उडान गरेपनि व्यवसायिक रुपमा विकास हुन सकेको छैन् । त्यसैगरी सुनापती डाँडा नजिकै रहेका केही होमस्टे रहेका छन् । गाउँपालिकाले होमस्टेको थप विकास गर्ने लक्ष्य लिएको छ ।

पर्यटन मन्त्रालयले पू्र्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा काम गर्ने गरी नमूना आयोजना छनौट गरेको छ । मन्त्रालयले उमाकुण्ड गाउँपालिकाको तामेमा तीन करोड रुपैयाँ पूर्वाधा निर्माणमा खर्च हुने बताएको छ । साझेदारी कार्यक्रम अन्र्तगत दुई करोड मन्त्रालय र एक करोड गाउँपालिकाले लगानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्