प्रधानमन्त्री ओलीले राजिनामा नदिने, संसद फेस गर्ने
११ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएका छन् ।संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदाताले फैसला गरेपनि तत्काल राजिनामा नदिने अडान लिएका हुन् । मंगलवार साँझ बालुवाटारमा केही मन्त्री तथा पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नगर्ने अडान लिएको एक मन्त्रीले बताए । छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र खानेपानी मन्त्री मणि थापासहित नेताहरु सुवास नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतको सहभागीता रहेको थियो ।
ती मन्त्रीले प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भने,‘सर्वोच्चको फैसला नमान्ने भन्ने भएन । हामीले मानेर जानुपर्छ । सर्वोच्चले १३ दिन समय दिएको छ । त्यतिबेलासम्म गृहकार्य गर्ने समय छ । अहिले नै मैले राजीनामा दिने सोचेको छैन ।’
भेटमा प्रधानमन्त्री ओलीले पार्टी विभाजित नभएको अवस्थामा आफू नै संसदीय दलको नेता रहेको बताउदै अर्को प्रधानमन्त्री चयनको लागि प्रक्रिया अगाडि बढाउन सजिलो नरहेको नेताहरुलाई जानकारी गराएका छन् । थप रणनीति बनाउन पार्टीले बुधवार स्थायी समितिको बैठक राखेर निर्णय लिने उनले तयारी थालेका छन् ।उनले बुधबार स्थायी समितिको बैठक राखेर त्यसबारे थप रणनीति बनाउने बताएका छन् ।