गाल्वा–दोरम्बा हुँदै टोकरपुरसम्मको १४ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता



१ चैत्र, काठमाडौं ।
दोरम्बा गाउँपालिकाको मुख्य सडक गाल्वा–दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपुरसम्मको १४ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । गाउँपालिकाले प्राथमिकताको साथ स्तरउन्नती गर्दै आएको उक्त सडक यस बर्षदेखि कालोपत्रेको काम अगाडि बढने भएको हो । संघीय सरकार, बागमती प्रदेश सरकार दोरम्बा गाउँपालिकाको सहकार्यमा गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रे गर्ने सम्झौता भएको छ ।

आइतवार बागमती प्रदेश सरकार र दोरम्बा गाउँपालिकाबीच गाल्वा, दोरम्बा टोकरपुर जोडने सडक कालोपत्रे गर्ने सम्झौता भएको छ । सडक कालोपत्रेका लागि प्रदेश सरकारले १० प्रतिशत, गाँउपालिकाको २० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत बजेट उपलब्धतामा गरउाने सम्झौता भएको छ । आइतवार दोरम्बा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तान र बागमती सरकारको तर्फबाट डा. सहदेव बहादुर भण्डारीले हस्ताक्षर गरेका छन् ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाको पहलमा गाल्वादेखि टोरपुरसम्म जोडने मुख्य सडक कालोपत्रेका काम छिट्टै अगाडि बढने बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाको प्राथमिकतामा रहेको सडक कालोपत्रे गर्ने सम्झौता भएको छ, यो गाउँपालिवासीको लागि खुसीको विषय हो ।’ गाउँपालिकाले अहिले उक्त सडकको स्तरउन्नतीको काम गरिरहेको छ ।

विगतमा अग्लेश्वर भिरमा बर्षाको समयमा यातायात सञ्चालन नहुने समस्या हटाउनको लागि यस बर्ष गाउँपालिकाले मुख्य अपठ्यारो रहेको ठाउँमा ढलानको काम समेत सम्पन्न गरिसकेको छ । सात किटर चौडाइ रहने सडक कालोपत्रे गर्न करिब ४१ करोड रुपैयाँ लाग्ने स्टामेट निकालिएको अध्यक्ष मोक्तानले बताए । उनका अनुसार करिब डेढ बर्षभित्रमा १४ किलोमिटर सडक कालोपत्रे गराइसक्ने गरी काम अगाडि बढाइनेछ ।

सडक कालोपत्रे गर्ने सम्झौता दोरम्बा गाउँपालिकावासीको लागि खुसीको विषय भएको बताउदै दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडाअध्यक्ष खड्कबहादुर श्रेष्ठले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा हुने काम अगाडि बढेको बताए । विगतमा यातायात सञ्चालन गराउन नै कठिन थियो, गाउँपालिकाको पहलमा अब सडक नै कालोपत्रे हुने भयो, उनले भने ।

प्रतिक्रिया दिनुहोस्