रामेछापको विकासमा प्रतिबद्ध भएर लागेको छुः सांसद श्रेष्ठ



४ चैत्र, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले जिल्लाको विकास निर्माणको लागि प्रतिबद्ध भएर लागेको बताएका छन् । उनले जिल्लाको विकासमा संघीय सरकारबाट बजेट ल्याउन पहल गरिरहेको बताउदै पूर्वाधार निर्माणको काम जिल्लाभित्र तीब्र गतिमा अगाडि बढेको बताए । भर्खरै मात्र संघीय सरकार प्रदेश र दोरम्बा गाउँपालिकाको समझदारीबाट गाल्वा दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपुरसम्म जोडने १४ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ, उनले भने ।

रामेछाप जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र सैलुङ क्षेत्रको विकास गर्न प्रतिबद्ध रहेको बताउदै सांसद श्रेष्ठले सदरमुकाम मन्थलीबाट दोरम्बा गाउँपालिका जोडने सडक पनि धमाधम कालोपत्रे भइरहेको बताए । रामेछाप–काभ्रे जोडने चौरीखोलामा निर्माणाधिन पुक्की पुल समयमा नै सम्पन्न गराउन पहल गरिरहेको बताउदै गाउँपालिकाभित्रको रणनैतिक विकासको कार्यक्रम संघीय सरकारबाट थप बजेट ल्याउने बताए ।

काकलिङ मावि दोरम्बामा आयोजित प्रथम दोरम्बा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले दोरम्बामा निर्माण भइरहेको खेल मैदानको स्तरउन्नती र विकासको लागि थप बजेटको लागि पहल गर्ने पनि प्रतिबद्धता जनाए ।कार्यक्रममा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्