कोरोना संक्रमण जोखिमको बेला, रामेछापमा रोकिएन सभा र भेला



१२ वैशाख, रामेछाप ।
छिमेकी देश भारतमा फैलिएको कोरोना संक्रमणको कारण नेपाल पुनः कोरोनाको उच्च जोखिममा परेको छ । भारतमा कोरोना संक्रमण भयावह बनिरहेको बेला स्वास्थ्य मन्त्रालयले कम्तिमा पाँच साता लकडाउन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । तर सरकारले लकडाउन गर्ने÷नगर्ने निर्णय अझै गरिसकेको छ । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ ।

कोरोना संक्रमण थप फैलिन नदिन सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने गरी निर्णय गरेपनि प्रभावकारी रुपमा कार्यान्वय हुन सकिरहेको छैन् । सरकारले सभा सम्मेलन भेला लगायतका भिडभाड हुने गतिविधि नगर्न आग्रह गरेपनि रामेछाप जिल्लामा राजनीतिक दल र संघ संस्थाले दिनहुँ सयौ मानिसहरु भेला गरेर निर्वाध रुपमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

कोरोना संक्रमणको बारेमा जनचेतना जगाउन सक्रिय हुनु पर्ने राजनीतिक दलहरु अहिले भेला र सभा गर्ने प्रतिस्पर्धामा रहेका छन् । जिल्लाभित्र नेकपा एमाले र माओवादी केन्द्रले दैनिक रुपमा सभा सम्मेलनको कार्यक्रमलाई निरन्तरता दिदै आएका छन् । सरकारको निर्णय विपरीत भेला सम्मेलन हुँदा संक्रमणको जोखिम बढी हुने भएकाले तीन अघि रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले २५ जना भन्दा भेला भएर कार्यक्रम नगर्न आग्रह गरेको थियो । तर राजनीतिक दलहरुले उक्त आग्रह अटेर गर्दै आएका छन् ।

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले सरकारले गरेको निर्णय कार्यान्वयन गर्न राजनीतिक दलहरु नै जिम्मेवार हुनुपर्ने बताए । उनले निर्णयकर्ता नै जिम्मेवार हुनुपर्ने बताउदै आफूहरु दैनिक सभा सम्मेलन हुँदा आफूहरु चिन्तित बनेको बताए ।

कोरोना संक्रमणको जोखिम बढिरहेको बेला राजनीतिक दलहरुको सभा सम्मेलन नरोकिदा जिल्ला प्शासन कार्यालय रामेछापले पनि चिन्ता व्यक्त गरेको छ । जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी भन्छन–‘सभा सम्मेलन नगर्न सरकारले निर्णय नै गरिसकेको छ, सभा सम्मेलन बढदै जाने हो भने कोरोनाको संक्रमण पनि जिल्लामा बढदै जानेमा कुनै शंका नै छैन, राजनीतिक दलहरु जिम्मेवार नभए हाम्रो मात्र निर्णयले केही पनि हुँदैन ।’
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सभा सम्मेलन रोक्नुको विकल्प नभएको बताउछन । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाभित्र २५ जना भन्दा बढी भेला भएर सभा सम्मेलन नगर्न हामीले अभियान चलाएको छौ ।’

प्रतिक्रिया दिनुहोस्