रामेछापको सीमा नाकामा कडाई गरिने, सेलेघाटमा अब हेल्प डेक्स
१२ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाभित्र सम्भावित कोरोना संक्रमण फैलिन नदिन सीमा नाकामा कडाई गरिने भएको छ । भोलीबाट रामेछाप भित्र्ने प्रमुख नाका सेलेघाटमा मन्थली नगरपालिकाले हेल्प डेक्स सञ्चालन गर्ने भएको छ ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले हेल्प डेक्स राखेर विदेश र छिमेकी देश भारतबाट फर्किएकाहरुको तथ्याङ राखिने बताए । उनका अनुसार रामेछाप जिल्लाभित्र प्रवेश गर्ने यात्रुहरुको ज्वरो नाप गरिनेछ ।
त्यसैगरी रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले पनि सीमा नाकाहरुलाई व्यवस्थित बनाउने कार्यमा लागेको बताए । उनले भने,‘अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या धेरै देखिएको छैन, अहिलेकै अवस्थामा राख्नको लागि सबैको साथ र सहयोगको खाँचो छ ।’
उनले भिडभाड हुने गतिविधि गर्न नहुनेमा जोड दिदै कोरोना संक्रमण फैलिन नदिन रामेछापवासी सबैले आ–आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्ने बताए ।