दोलखामा पिसिआर मेसिन राखियो, रामेछापमा कहिले ?



२३ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा पिसिआर परीक्षण गर्ने मेसिन नहुँदा हाल दैनिक रुपमा स्वाब परीक्षण गर्नको लागि काभ्रेको धुलिखेल लैजाने गरिएको छ । छिमेकी जिल्ला दोलखामा पिसिआर मेसिन स्थापना गरेर स्वाब परीक्षण सुरु गरिएको छ । तर रामेछाप जिल्लामा पिसिआर मेसिन राख्ने कुरा चलेपछि राजनीतिक नेतृत्वले चासो नदिदा प्रक्रिया अगाडि बढन सकेको छैन् ।

दोलखाका सांसदहरु एकजुट भएर लाग्दा दोलखामा पिसिआर मेसिन राख्ने काम सम्भव भएको हो । रामेछापमा पिसिआर मेसिन नहुँदा जिल्लामा संकलन गरिएको स्वाबको रिपोर्ट आउन तीन दिनसम्म कुर्नुपर्ने अवस्था छ । कोरोना महामारीलाई लक्षित गर्दै दोलखाबाट निर्वाचित संघ र प्रदेशका प्रत्यक्ष निर्वाचित तीन जना सांसदले पचास पचास लाखका दरले बजेट विनियोजन गरेर १ करोड ५० लाख बजेट विनियोजन गरेका थिए ।

उक्त बजेटबाट पिसिआर मेसिन खरिद गरेर हाल चरिकोट अस्पतालमा प्रयोगशाला स्थापना गरिएको छ । एक पटकमा एक सय जनाको स्वाब परीक्षण गर्न सकिनेछ । त्यसैगरी सिन्धुली जिल्लामा पनि पिसिआर मेसिन सञ्चालनमा आइसकेको छ । तर रामेछाप जिल्लामा भने स्थानीय सरकार र संघ र प्रदेशमा निर्वाचित सांसदहरुले पिसिआर मेसिन खरिद गर्न ध्यान नदिएकाे गुनासाे बढेकाे छ ।

प्रतिक्रिया दिनुहोस्