पिसिआर मेसिन नहुँदा रामेछापमा कोरोना संक्रमणको जोखिम बढयो



२५ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना संक्रमणको जोखिम झन बढेको छ । जिल्लामा संकलित स्वाबको रिपोर्ट आउन तीन दिन लाग्ने भएकाले संक्रमणको जोखिम बढेको हो । जिल्ला अस्पताल रामेछाप र मन्थलीमा संकलन गरिएको स्वाब परीक्षण गर्न धुलिखेल अस्पतालले नमानेपछि हाल दोलखा र सिन्धुली पठाउने गरिएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले स्वाब संकलनको रिपोर्ट आउन तीन दिन लाग्ने गरेको रामेछाप न्युजलाई बताए । जिल्लाभित्र पिसिआर मेसिन नहुँदा लक्षण देखिएका व्यक्तिहरुको मात्र स्वाब संकलन गरेर पठाउने गरिएको बताउदै उनले संक्रमितसँग घुलमिल भएका व्यक्तिहरुको पिसिआर नै गर्न कठिन भएको बताए ।

पिसिआर मेसिन स्थापनाको लागि पहल भइरहेको छ, बागमती प्रदेश सरकारले पठाउन सक्ने खबर पाएका छौ, पिसिआर मेसिन जिल्लामै स्थापना भएपछि तीब्र गतिमा स्वाब संकलन गर्न सकिन्छ, थापाले भने ।बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पिसिआर मेसिन नभएका प्रदेशका जिल्लाहरुमा तत्काल नै खरिद गरेर पठाउने तयारी भइएको बताए । तर प्रदेश सरकारले निर्णय भने गरिसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्