प्रधानमन्त्रीको फैसला गर्न संसदमा मतदान जारी
२७ वैशाख, काठमाडौं । संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्तावका लागि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले मत विभाजनका लागि प्रक्रिया सुरु गरेसँगै मतदान सुरु भएको हो । योसँगै सबै सांसदले आफ्नो मत अभिव्यक्त गर्नेछन् भने त्यसअनुसार ओलीले विश्वासको मत पाउने नपाउने बारे निर्णय आउनेछ ।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आजका लागि बैठक बोलाएकी हुन् ।
दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ । सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्, उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।
विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको छ।