दोरम्बा गाउँपालिकाभित्र संक्रमित बढिरहेका छन् सतर्क रहनुहोसः उपाध्यक्ष घिसिङ
२८ वैशाख, रामेछाप ।
दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले गाउँपालिकाभित्र कोरोना संक्रमितको संख्या बढिरहेकाले उच्च सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह गरेकी छिन् । उनले दोरम्बा गाउँपालिकामा कोरोनाकसँग मिल्दो जुल्दो लक्षणको कारण दुई जनाको मृत्यु भएपछि सबैले सावधानी अपनाउन आग्रह गरेकी हुन् ।
‘हाम्रो गाउँपालिकाभित्र पनि संक्रमण दर दिनहुँ बढिरहेको छ’, घिसिङले भनिन,‘कोरोनासँग मिल्दोजुल्दो लक्षणका विरामीको संख्या गाउँ वस्तीमा बढिरहेको छ ।’
कोरोनासँग मिल्दो जुल्दो लक्षणका लक्षणका कारण दोरम्बा निवासी गोपीलाल तामाङ र उनको कान्छा भाइ सबिलाल तामाङको काठमाडौंमा केही समय देखि आईसियुको खोजी गर्दा गर्दै आईसियुको अभावको कारण मृत्यु भएको थियो ।
कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि गाउँपालिकाभित्र पिसिआर परीक्षणको कामलाई तीब्रता दिएको बताउदै चालिस जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण देखिएको र ६० जनाको रिपोर्ट आउन बाँकी रहेको बताइन । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएमा नजिको स्वास्थ्य चौकीमा सम्पर्क गर्न आग्रह गर्दै घिसिङले गाउँपालिकाभित्र भिडभाड गर्ने कुनै पनि क्रियाकलाप नगर्न गाउँपालिकावासीलाई आह्वान गरेकी छिन् ।