रामेछाप अस्पताललाई रत्न गौतमले दिए एक हजार थान एण्टिजीन



५ जेठ, रामेछाप ।
नेकपा एमालेका नेता एवं निर्माण व्यवसायी रत्न प्रसाद गौतमले रामेछापको लागि एक हजार थान एण्टिजीन निशुल्क रुपमा सहयोग गरेका छन् । उनले पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला हुदाँ जिल्लामा संक्रमितको संख्या बढने चिन्ता भइरहेको बेला जिल्ला अस्पताल रामेछापलाई एण्टिजीन प्रदान गरेका हुन् । एण्टिजीन मार्फत कोरोना भए/नभएको आधा घण्टामै थाहा पाउन सकिन्छ ।

गौतमले उपलब्ध गराएको १ हजार थान एण्टिजीन बुधबार रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूमार्फत जिल्ला अस्पताल रामेछापलाई हस्तान्तरण गरेका छन् । विगतमा गरिने आरडिटी परीक्षण भन्दा एण्टिजन किटमा सम्भावित संक्रमित व्यक्तिको स्वाब नै राखेर परीक्षण गरिने भएकाले प्रभावकारी मानिएको छ । रामेछापका प्रजिअ सैजूले गौतमबाट प्राप्त भएको एण्टिजीन छ वटा गाउँपालिकालाई एक÷एक सय र दुई वटा नगरपालिकालाई दुई÷दुई सयको दरले पठाउन लागिएको जानकारी दिए ।

नेता गौतमले जिल्लामा संकट परिरहेको बेला आफूले सक्ने सहयोग गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘यो संकटको बेलामा सबैले सहयोग गरौ, जिल्लालाई आवश्यक पर्ने अक्सिजन सिलिन्डर पनि खोजी गरिरहेका छौं, यो कठिन समयमा सबै मिलेर लागौ ।’ जिल्लामा कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि एण्टिजीन उपयोगी हुने बताउदै गौतमले रामेछापवासीको जीवन रक्षा गर्न आफूले सक्दो सहयोग गर्ने बताए । करिब ६ लाख बराबरको एण्टिजीन गौतमले निशुल्क रुपमा सहयोग गरेका हुन् ।

जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले पिसिआरको रिपोर्ट आउन समय लागि रहेको बेला गौतमले एण्टिजन सहयोग गरेर ठूलो गुण लगाएको बताए । एण्टिजीनले तुरुन्तै संक्रमित पत्ता लगाउँदा संक्रमित पहिचान गर्न सजिलो हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्