प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने
काठमाडौं ।
सरकारले जेठ ९ गते संसद बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ ९ गते संसद बैठक आह्वान गर्न सिफारिस गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ ।
विहिवार बसेको मन्त्रीपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने जानकारी गराउनुभएको छ । संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने नीति लिएका छन् ।
वैशाख २७ गते संसदमा विश्वासको मत गुमाएपछि विपक्षी दलले नयाँ सरकार गठन गर्न नसकेको अवस्थामा पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।