रामेछापमा दुई महिनाभित्र अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँछौः अध्यक्ष पाख्रिन



१० जेठ, रामेछाप ।
जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले अबको दुई महिनाभित्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेर सञ्चालनमा ल्याइने बताएका छन् । उनले अहिले जिल्लाको आवश्यकत पूरा गर्ने गरी संघीय सरकारले बजेटको सुनिश्चितता गरेको बताउदै तत्काल खरिद प्रक्रिया अगाडि बढाइने बताएका हुन् ।

रामेछाप न्युजसँग अध्यक्ष पाख्रिनले भने,‘हाम्रो माग अनुसार अक्सिजन प्लान्ट स्थापना हुने भयो, अब दु्रत गतिमा खरिद प्रक्रिया अगाडि बढाएर दुई महिनापछि अक्सिजन खोज्न अन्य जिल्लामा धाउनु पर्ने बाँध्यता हटाउछौं ।’

उनले स्थापना हुन लागेको अक्सिजन प्लान्टबाट दैनिक दस वटा ठूलो अक्सिजन सिलिन्टर भर्न सकिने बताउदै जिल्लाको आठ वटै स्थानीय तहमा आवश्यक पर्ने अक्सिजन अब जिल्लामै उत्पादन हुने बताए ।

जिल्लामा अक्सिजन प्लान्ट नहुँदा अहिले काभ्रे, काठमाडौं मात्र नभई विराटनगर र ढल्केवर लगायतको ठाउँसम्म अक्सिजन भर्न जानुपर्ने बाँध्यता रहेको छ । जिल्लामा अक्सिजन प्लान्ट स्थापना हुने भएसँगै जिल्लाभित्र अक्सिजनको दिर्घकालिन समाधान भएको छ ।

अध्यक्ष पाख्रिनले अक्सिजन प्लान्ट स्थापना गर्न विशेष भूमिका निर्वाह गर्नुहुने अर्थमन्त्री विष्णु पौडेल,रामेछाप जिल्लाबाट पहल गर्नु हुने नेकपा एमालेको नेता रत्न गौतम, एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया लगायतका नेताहरु धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्