उमाकुण्ड गाउँपालिकामा २० वेडको कोभिड अस्पताल सञ्चालनमा (फोटोफिचर)



२० जेठ, रामेछाप ।
उमाकुण्ड गाउँपालिकामा वीस वेडको आइसोलेनसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । यसअघि पाँच वेड मात्र रहेको अवस्थामा थप १५ वेड थपेर २० वेडको पुर्याएको हो । गाउँपालिकाभित्रका संक्रमितलाई सहज रुपमा उपचार गर्नको लागि गाउँपालिकाले अस्पतालको स्तरउन्नती गरेको छ । डाक्टरसहित सेवा दिदै आएको अवस्थामा अहिले संक्रमित बिरामीहरुको उपचार भइरहेको छ ।

गाउँपालिकाको केन्द्र प्रितीमा सञ्चालनमा ल्याएको अस्पताललाई चाहिने आवश्यक स्रोत साधन समेत गाउँपालिकाले व्यवस्था गरेको छ । गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुुनवारले गम्भीर संक्रमित बाहेकका कोभिडका बिरामीलाई अस्पतालमै उपचार गर्ने व्यवस्था मिलाइएको बताए । उनले भने,‘हामीले सकेसम्म गाउँपालिकावासीलाई सकेको सेवा प्रवाह गर्न लागि परेका छौं ।’ अध्यक्ष सुनुवारले संक्रमितलाई उपचार गर्न गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिने बताए ।

संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाले हालै २० वटा अक्सिजन सिलिन्डर खरिद गरेको छ । योसँगै गाउँपालिकाले खरिद गरेको २५ वटा र विभिन्न संघ संस्थाले दिएको १५ वटा गरेर हाल अस्पतालमा ४० वटा अक्सिजन सिलिन्डर रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकराले रामेछाप न्युजलाई बताए ।

कोभिड अस्पतालका डा.पेमा देचेन गुरुङले आफूहरुले सक्ने सेवा अस्पतालबाट प्रवाह गरिरहेको बताइन । उनले अस्पतालबाट हुन नसक्ने उपचारको लागि अन्यत्र रिफर गरिदै आएको बताउदै उनले हाल अस्पतालमा चार जना संक्रमितको उपचार भइरहेको रामेछाप न्युजलाई जानकारी दिइन । गाउँपालिकामा हाल चालिस जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्