रामेछाप नगरपालिकामा ५० हजार थान मास्क वितरण



२० जेठ, रामेछाप ।
रामेछाप नगरपालिकाभित्र कोरोना संक्रमण थप फैलिन नदिनको लागि पचास हजार थान मास्क वितरण गरिएको छ । नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटी र नारायण बाबु श्रेष्ठ स्मृति प्रतिष्ठाको संयुक्त पहलमा नगरपालिकाको नौ वटै वडामा मास्क वितरण गरिएको हो । आज माओवादी केन्द्र रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङ, नारायण बाबु श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष नरेशबाबु श्रेष्ठको नेतृत्वमा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्था मार्फत मास्क वितरण गरिएको छ ।

माओवादी केन्द्र रामेछाप नगर कमिटीको पहलमा ४० हजार र स्मृति प्रतिष्ठानबाट खरिद भएको १० हजार सहित पचास हजार मास्क रामेछाप नगरपालिकावासीलाई वितरण गरिएको छ । माओवादी केन्द्र रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङले कोरोना नियन्त्रण र रोकथामको लागि पार्टी र स्मृति प्रतिष्ठानको संयुक्त पहलमा खरिद गरिएको मास्क सबै नगरवासीको लागि पुग्ने गरी वितरण गरिएको बताए । सबै नगरवासीलाई पुग्ने गरी मास्क वितरण गरेका छौ, उनले भने ।

माओवादी केन्द्र रामेछाप नगर कमिटीका नेता समृत रहेका स्मृति प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले रामेछाप न्युजसँग भने,‘नगरपालिकाभित्र वितरण गरिएको मास्क आइएसो चिन्ह मान्यता प्राप्त मास्क वितरण गरेका छौ, कोरोना नियन्त्रण र रोकथामको लागि मास्कको प्रयोग अनिवार्य छ ।’ श्रेष्ठले पचास हजार मास्क खरिद गर्नको लागि २ लाख ८४ हजार खर्च भएको बताए ।

काठमाडौमा खरिद गरिएको मास्क ढुवानीको लागि माओवादी केन्द्र रामेछाप नगर कमिटीका नेता रत्न नेवारले सहयोग गरेका थिए । रामेछाप नगरपालिकाले तयार गरेको नगरपालिकाको प्रोफाइल अनुसार नगरपालिकाको हालको जनसंख्या ४० हजार भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्