रामेछाप जिल्लामै पहिलो पटक रोपियो जुम्लाको मार्सी धान,किसान उत्साहित
२२ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको उच्च पहाडी क्षेत्र गोकुलगंगा गाउँपालिकामा पहिलो पटक जुम्लाको मार्सी धान रोपिएको छ । गाउँपालिकाको १८ सय मिटरको उचाईमा रहेको रस्नालु लगायतको आसपासको क्षेत्रमा पहिलो पटक मार्सी धान लगाइएको हो । गाउँपालिकाले यस बर्ष किसानहरुको लागि पाँच सय किलो मार्सी धान जुम्लाबाट खरिद गरेर ल्याएर वितरणा गरेकाे छ । गाउँपालिकाले किसानहरुलाई निशुल्क रुपमा मार्सी धानको विउ वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले कृषि क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित नेपालकै महंगा मार्सी धानको खेती सुरु गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार गाउँपालिकाभित्र यस बर्ष २ रोपनी भन्दा बढी क्षेत्रमा मार्सी धान लगाइएको हो । गाउँपालिकाभित्र यस बर्ष रोपिएको मार्सी धान राम्रो फलेको अवस्थामा अर्को बर्ष यसलाई व्यापक रुपमा लगाइने बताउदै अध्यक्ष सुनुवारले उच्च पहाडी फल्ने मार्सी धानको मुल्य पनि राम्रो रहेको बताए ।
हाल जुम्लाको रातो मार्सी चामलको मुख्य प्रति केजी पाँच सय रुपैयाँ भन्दा बढी रहेको छ । मार्सी धान लगाएसँगै किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले यस बर्ष धान राम्रो उत्पादन भएको अवस्थामा आगामी बर्षबाट व्यवसायिक रुपमा नै मार्सी धान खेतीलाई प्राथमिकता दिने नीति लिएको छ ।