रामेछापमा जारी लकडाउन केही खुकुलो बनाउने निर्णय (सूचनासहित)
२५ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा जारी लकडाउन केही खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला स्तरीय कोभिड–१९संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलाेचन सैजूको अध्यक्षमा बसेको बैठकले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा जारी विज्ञप्तीमा बैंक तथा वित्तिय संस्था र खाद्यन्न पसल सञ्चालन समय पनि बढाइएको उल्लेख गरिएको छ । यसअघि बिहान ५ देखि ८ बजेसम्म सञ्चालन हुँदै आएको खाद्यन्न पसल सञ्चालन गर्ने समय ५ देखि ९ बजेसम्म पुर्याउने निर्णय भएको छ ।
त्यसैगरी बैंक सञ्चालन गर्ने अवधि पनि एक घण्टा थप गर्दै १० बजेदेखि दिउसो २ बजेसम्म पुर्याइएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यसअघि १० बजेदेखि दिउसो १ बजेसम्म मात्र बैंक सञ्चालन गर्न दिइएको थियो ।जिप्रकाको निर्णय अनुसार मन्थलीमा सञ्चालित १४ बैंकहरु साताको तीन दिन मात्र आलोपालो प्रणालीबाट सञ्चालन हुँदै आएको छ ।
त्यसैगरी रामेछाप जिल्लाभित्र सहकारी समेत अब सञ्चालन गर्न पाइने भएको छ । सहकारी सञ्चालन गर्ने समय १० बजेदेखि दिउसो २ बजेसम्म तोकिएको छ । जिप्रकाले भोलीदेखि लागू हुने गरी असार २ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।