कोरोना संकट: रामेछापमा नेपाली सेनाको साथ
२८ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएसँगै मृत्यु हुने संख्या पनि बढदै गएको छ । समुदाय स्तरमा कोरोना फैलिएको कारण संक्रमितको संख्या बढदै गएको हो । संक्रमित अधिकांश होम आइसोलेसनमै बसेका छन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार रामेछापका आठ स्थानीय तहमा गरी हाल ३ सय ७८ जना होम आइसोलेनमा बसेका छन । कार्यालयका अनुसार विभिन्न अस्पतालमा बस्ने कोरोना संक्रमितको संख्या ४५ जना रहेको छ ।
कतिपय संक्रमितको समयमै अस्पताल नजादा निधन भएको छ भने कतिपय संक्रमितहरु जिल्ला स्थित विभिन्न अस्पतालमा भर्ना भएर पनि आर्थिक अवस्था कमजोर भएकाले थप उपचारको लागि काठमाडौं लैजान नसकेको कारण समेत निधन हुने गरेको छ ।
जिल्ला अस्पताल रामेछापमा यसअघि उपचारको क्रममा निधन भएका एक संक्रमितको परिवारले थप उपचारको लागि काठमाडौं लैजान नसक्ने बताएपछि कोशिस गर्दागर्दै पनि डाक्टरले बचाउन नसकेको जिल्ला अस्पतालका एक कर्मचारी बताउछन । उनका अनुसार अस्पतालमा हाल आइसीयू र भेन्टिलेटर नभएको कारण गम्भीर बिरामीलाई चाहेर पनि बचाउन सक्ने अवस्था छैन् ।
अस्पतालमा मात्र होइन, कोभिडका बिरामी होम आइसोलेसनमै रहेको अवस्थामा समेत निधन हुने गरेको छ । तीन दिन अघि सुनापति गाउँपालिका–२ दिमीपोखरीमा एक जना कोरोना संक्रमितको निधन भएपछि शव व्यवस्थापनमा भएको चिन्ता नेपाली सेनाले समाधान गरेको छ ।
यसअघि जिल्ला अस्पताल रामेछाप र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोनाबाट निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनको काम गर्दै आएको सेनाले होम आइसोलनमै निधन भएका व्यक्तिको शव पनि व्यवस्थापन गरेको छ । रामेछापमा कोरोनाको दोस्रो लहर अन्तर्गत मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका एक कोरोना संक्रमितको निधन भएपछि जिल्ला सुरक्षा समिति रामेछापले शव व्यवस्थापनको काम नेपाली सेनाले गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जिल्लाभित्र कोभिडबाट निधन भएका व्यक्तिहरुको शव नयाँ गोरख गण रामेछापबाट खटिएका तालिम प्राप्त सेनाको टोलीले गर्दै आएको छ ।
झण्डै एक महिनाको अवधिमा रामेछापमा मात्र कोभिडबाट १६ जनाको निधन भएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । रामेछापमा नेपाली सेनाको टोलीले कोरानाबाट निधन भएका १० जनाको शव व्यवस्थापन गरेको नयाँ गोरख गण रामेछापका गणपति विष्णु सापकोटाले रामेछाप न्युजलाई बताए । कोभिडबाट निधन भएकाहरुको शव व्यवस्थापनको काममा तालिम प्राप्त टोली खटाइएको छ, आज मात्र मन्थली प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निधन भएका दुई जनाको शव व्यवस्थाप गर्ने काम भएको छ, उनले भने ।
कोरोनाबाट निधन भएकाहरुको शव व्यवस्थापन गर्ने काम समुदायलाई नै दिदा थप संक्रमण फैलिन सक्ने भएकाले जिप्रका रामेछापले कोभिडबाट निधन भएकाहरुको शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । कोरोना संकटको बेला सेनाले शव व्यवस्थापन गर्दा समुदायले शव व्यवस्थापन गर्दा हुन सक्ने संक्रमणको जोखिम कम हुन पुगेको छ । नेपाली सेनाले स्थानीय तहले तोकिएको स्थानमा शव व्यवस्थापनको काम गर्दै आएको छ ।