गोकुलगंगा अस्पतालका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय
१ असार, रामेछाप ।
गोगुलगंगा गाउँपालिकाले गाउँपालिमा सञ्चालित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । गाउँपालिकाले कोभिडका बिरामीको उपचारमा खटिने अस्पतालका कार्यरत डाक्टर नर्ससहित वीस जना कर्मचारीलाई थप पचास प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले जोखिम मोलेर कोभिडका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पचास प्रतिशत भत्ता दिने निर्णय भएको रामेछाप न्युजलाई बताए । उनले गाउँपालिकाभित्रै अस्पताल सञ्चलानमा ल्याउन सकेको कारण अधिकांश कोभिडका बिरामीको गाउँमै उपचार भइरहेको बताए ।
गोकुलगंगा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख जागिर रायले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पचास प्रतिशत र अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता दिने निर्णय भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार गाउँपालिकाभित्र हाल ६ वटा स्वास्थ्य चौकी, एउट सामुदायिक स्वास्थ्य केन्द्र र एउटा अस्पताल रहेका छन् । हाल गाउँपालिकामा ४७ जना स्वास्थ्यकर्मी कार्यरत रहेको बताउदै जोखिम मोलेरै स्वास्थ्यकर्मीहरु कोरोना नियन्त्रण र उपचारमा खटिदै आएको बताए ।