लिखु तामाकोसी गाउँपालिकाले आगामी बर्षको लागि १ अर्बको बजेट ल्याउने



४ असार, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि करिब १ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाको यस आर्थिक बर्षमा सर्शत अनुदान अन्तर्गतको पचास प्रतिशत मात्र बजेट खर्च भएको र समाणिकर अन्तर्गको बजेट खर्च नभएको उक्त बजेटलाई समावेश गरेर बजेट ल्याउन लागेको हो ।

यस आर्थिक बर्ष २०७७/०७८ को बजेट असारमै ल्याउनु पर्ने भएपनि गाउँपालिकाभित्रको विवादको कारण नौ महिनापछि गत चैतमा ५९ करोड ११ लाखको बजेट ल्याएको थियो । तर विनियोजित बजेट गाउँ पालिकाका अध्यक्ष र कार्यपालिकाका सदस्यहरुबीचको विवादको कारण कार्यान्वयन हुन सकिरहेको छैन् ।

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले आगामी आर्थिक बर्षको लागि १ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी भइरहेको रामेछाप न्युजलाई बताए । उनले भने,‘अहिले बजेट निर्माणको तयारीमा जुटेका छौ, असार १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याउछौं ।’ यस आर्थिक बर्षमा विनियोजन गरेको बजेट विभिन्न कारणले खर्च हुन नसकेको कारण आगामी आर्थिक बर्षको बजेट बढन लागेको अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्