रामेछापको तामाकोसी नदी किनारामा जडान गरेको साइरन गायब



१३ असार, रामेछाप ।
जब बर्षा लाग्दा तब रामेछापका सुनकोसी र तामाकोसी नदी किनाराका बासिन्दामा चिन्ता थपिदै जान्छ । नदी किनारासँगै निर्माण गरिएका वस्ती बर्षाको समयमा उच्च जोखिममा पर्ने गरेको छ । २०५४ सालमा च्छो रोल्पा ताल फुटने हल्ला भएसँगै सम्भावित बाढी आउनु अघि नै पूर्व सूचना दिनको लागि रामेछापको तामाकोसी नदी किनारमा जडान गरिएको सात वटा साइरन अहिले गायब भएको छ ।

रामेछापमा त्यति बेला साइरन जडान गर्न पूर्व सांसद एवं नेकपा एमालेका नेता देवशकंर पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । जिल्लामा च्छो रोल्पा ताल फुटेको अवस्थामा हुन सक्ने जनधनको क्षति हुन नदिन रामेछापको खिम्तीदेखि रजगाउँसम्म साइरन जडान गरिएको थियो । निकै उच्च प्रविधिको साइरनको संरक्षण हुन नसक्दा अहिले पनि मध्यरातमा नागरिकहरुलाई सचेत हुनको लागि प्रहरीले माइकिङ गर्नुपर्ने बाँध्यता रहेको छ ।

एक साता अघि मात्र चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीले रामेछापका नदी किनाराका बासिन्दालाई चिन्तित बनायो । नदी किनाराका बासिन्दा दुई दिन राम्रोसँग निदाउन पाएनन । चीनको टिंग्री काउन्टीको रोङछिया सहर र आसपासका क्षेत्रमा भएको भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिदा थपिएको चिन्ता केही दिनपछि चिनियाँ टोलीले विस्तारै खुलाएपछि अहिले टरेको छ । तर बर्षाको समय भएकाले जिल्लाको तामाकोसी सुनकोसी नदीमा कति बेला ठूलो बाढी आउछ अनुमान गर्न कठिन छ ।

भण्डै २४ बर्ष अघि नै बाढीको पूर्व सूचना दिनको लागि रामेछाप स्थित तामाकोसी नदीको खिम्ती हलेदे, मन्थली रजगाउँ लगायतको ठाउँमा आधुनिक प्रविधिको साइरन जडान गरिएको थियो । तर सम्बन्धित निकायले संरक्षण गर्न ध्यान नदिदा अहिले माथिल्लो तटिय क्षेत्रमा बाढी पहिरो आउदा रातभर गाज्राम बस्नु पर्ने अवस्था रहेको छ ।

दोलखादेखि रामेछापको रजगाउँसम्म १७ वटा आधुनिक प्रविधिको साइरन जडान गरिएको बताउदै पूर्व सांसद देवशकंर पौडेलले बाढीबाट नागरिकलाई बचाउन पुनः साइरन जडान गर्नुपर्ने बताउछन । उनले रामेछाप न्युजसँग भने,‘मैले त्यति बेला संसदमा साइरन जडान गर्न माग गरेको थिए, माग बमोजिम सरकारले दोलखादेखि रामेछापको रजगाउँसम्म साइरन पनि जडान भयो । तर संरक्षण हुन सकेन ।’ लामाबगर क्षेत्रबाट बाढी आउदैछ भन्ने पूर्व सूचना रामेछापका नदी किनाराका बासिन्दाले पाँच घण्टा अघि नै पाउने हो भने अहिले पनि ठूलो जनधनको क्षतिबाट बचाउन सकिने बताउदै पौडेलले साइरनसँगै रहेको माइकिङ र सोलार हराउनु चिन्ताको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्