प्रदेश सरकार मार्फत रामेछापमा ४० किलोमिटर सडक कालोपत्रे सम्पन्न



२१ असार, रामेछाप ।
बागमती प्रदेश सरकारको लगानीमा रामेछापमा विगत दुई बर्षको अवधिमा चालिस किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा रामेछापका मुख्य सडकहरुको कालोपत्रे गर्ने काम अगाडि बढेको हो । यस आर्थिक बर्ष मात्र रामेछापका विभिन्न सडकमा गरी एक अर्ब रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको थियो । सदरमुकाम मन्थलीबाट सबै स्थानीय तहसम्म जोडन मुख्य सडकलाई कालोपत्रे गर्ने प्रदेश सरकारको नीति अनुसार कालोपत्रे गर्ने काम अगाडि बढेको छ । बागमती प्रदेश सरकारको लगानीमा रामेछापका सबै स्थानीय तह जोडने सडक बहुबर्षिय ठेक्का प्रक्रिया अगाडि काम धमाधम भइरहेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नयाँ सडक निर्माण गर्ने भन्दा पनि सदरमुकाम मन्थलीबाट जिल्लाको छ वटा गाउँपालिकासम्म जोडने सडक कालोपत्रे कामलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । सदरमुकाम मन्थलीबाट रामेछाप नगरपालिकाको केन्द्र रामेछापडाँडासम्म यसअघि नै सडक कालोपत्रे भइसकेको छ । त्यसैगरी अहिले सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवी जोडने मन्थली खाँडादेवी गाल्वा सुनापति सडकको काम अगाडि बढेको छ ।

सुनापति गाउँपालिकाको केन्द्र जोडन बिपी राजमार्गको खैरेनीघाट खनियापानी बेथान हुँदै गाल्वा जोडने सडक खण्डमा पनि कालोपत्रेको काम भइरहेको छ । मन्त्री ढुंगेल भन्छन,‘सडकको पहिचान गरेर स्थानीय तहको केन्द्रसम्म जोडन मुख्य सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट छुटयाइएको छ, मुख्य सडकलाई दिगो रुपमा सञ्चालन गर्न कालोपत्रे गर्नुको विकल्प छैन् ।’ उनले निर्वाचनको क्रममा आफूले मतदाता समक्ष गरेको प्रतिबद्धता अनुसार यातायातको सेवा सहज रुपमा गाउँगाउँमा पुर्याउनको लागि कालोपत्रेको कामलाई ध्यान दिएको बताए ।
पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख सोमराज तिम्लिसिनाले विभिन्न सडक गरी हालसम्म चालिस किलोमिटर भन्दा बढी सडक जिल्लाभित्र कालोपत्रे भइसकेको रामेछाप न्युजलाई बताए । उनले भने,‘लकडाउनको अवधिमा पनि काम भएकाले लक्ष्य अनुसारकै हामीले काम गरिरहेको छौं ।’ यस आर्थिक बर्षमा मन्थली मदौ राल्टार सडकको साढे सात किलोमिटर सडक कालोपत्रे भएको छ । करिब १७ करोड लागतमा उक्त सडक कालोपत्रे भएको हो ।

त्यसैगरी ३८ करोड लागतमा मन्थली पकरवास गाल्वा सडक खण्डको साढे १६ किलोमिटर सडक कालोपत्रे भएर सञ्चालनमा आइसकेको छ । २३ करोड लागतमा सित्खा–भिरपानी खण्डको १० किलोमिटर, ८ करोड लागतमा खैरेनीघाट लुभु बेथान सडक खण्ड, साढे २ करोड लागतमा लखनपुर गाल्वा सडक खण्डको १ किलोमिटर, साढे तीन करोड लागतमा कालोचौतारो सिंगटी सडक खण्डको साढे १ किलोमिटर र साढे २ करोड लगानीमा खिम्ती रस्नालु सडक खण्डको १ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । यस आर्थिक बर्षमा सडक कालोपत्रे गर्न एकअर्ब बजेट रहेको बताउदै प्रमुख तिम्सिनाले ९० करोड भन्दा बढी बजेट खर्च भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्