पर्यटकीय गन्तव्य सैलुङ्गमा थपियो नयाँ आर्कषण ( फोटोफिचर)



२६ असार, रामेछाप ।
रामेछापको दोलखाको संगमस्थल पर्यटकीय गन्तव्य सैलुङ्गमा भेडाको आर्कषण थपिएको छ । यसअघि चौरी पालन हुँदै आएको सैलुङ्गमा भेडा पालन पनि सुरु भएको हो । प्राकृतिक एवं धार्मिक गन्तव्य सैलुङ्गका पाखाभरी अहिले सेताम्मै भाडा देखिन्छन । प्राकृतिक रुपमा अत्यन्त आकर्षण गन्तव्यको पहिचान बनाएको सैलुङ्गमा भेडा पालन व्यवसायिक रुपमा सुरु भएपछि पर्यटकहरु थप आर्कषित हुने भएका छन् ।

कोभिड–१९ को कारण बाह्य पर्यटक आउन बन्द भएपनि सैलुङ्गमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । दोरम्बा गाउँपालिकाले दोलखा जिल्लासँग मिलेर सैलुङ्गको पर्यटन पूर्वाधार विकासमा जोड दिएको छ । सैलुङ्गमा हाल पदमार्गको रुपमा सिढी, भ्यु टावर, छोर्तेन लगायतको भौतिक पूर्वाधार निर्माण भइसकेको छ । सैलुङ्गसँग खानेपानी पुर्याउने काम पनि अगाडि बढिरहेको सैलुङ्गका पर्यटन अभियन्ता दावा साङबु शेर्पा बताउछन ।

उनले भने,‘सैलुङ्ग प्राकृतिक रुपमा सुन्दर र अनुपम छ, हामी यहाँको विविधतालाई संरक्षण गर्ने अभियानमा काम गरिरहेका छौं ।’ बागमती प्रदेश सरकारले गाल्वा दोरम्बा हुँदै सैलुङ्गसम्म जोडन सडकलाई कालोपत्रे गर्ने कार्यक्रम अगाडि सारेको छ । बर्षाको समयमा पनि सहज रुपमा पर्यटकहरु आउन सक्ने वातावरण निर्माण गर्न दोरम्बा गाउँपालिकाले उक्त सडकलाई स्तरन्तती गर्ने नीति लिएको छ ।

हिउदको समयमा हिउ पर्ने भएकाले राजधानी काठमाडौं र सदरमुकाम मन्थली लगायतका क्षेत्रबाट पर्यटकहरु हिउ खेल्न आउने गरेका छन् । केही समययता सैलुङ्ग आन्तरिक पर्यटकहरु घुम्ने प्रमुख गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

तस्बीरः दावा साङबु शेर्पा

प्रतिक्रिया दिनुहोस्